विराटचोकः मोरङको सुन्दरहरैंचा–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नम्बरको हायस माइक्रोबस आफैँ अनियन्त्रित भई सडक किनारको पीपलको रुखमा ठोक्किएको थियो । ठक्करबाट पैदलयात्री सुनसरीको धरान उपमहानगरपालिका बस्ने १३ वर्षीय सबिन मक्राँतीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटनामा माइक्रोबसका सहचालक मोरङको उर्लाबारी नगरपालिका बस्ने २२ वर्षीय सचिन परियार गम्भीर घाइते भएकाले विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको बताइएको छ । चालक पथरी शनिश्चरे नगरपालिका–९ बस्ने २९ वर्षीय रमेश बस्नेत सामान्य घाइते भएकाले र उनेको बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । सो माइक्रोबसमा चालक र सहचालक मात्र सवार रहेको प्रहरीले जनाएको छ ।