पाँचथरः खानेपानीको हाहाकार भएपछि फिदिम नगरपालिकाले अहिले फिदिम बजारवासीलाई घरघरमै लगेर पानी वितरण गरेको छ ।

फिदिम खानेपानी उपभोक्ता समितिबाट सञ्चालनमा ल्याइएको खानेपानीको पाइप फुटेर बिग्रिएपछि अहिले फिदिम बजारमा खानेपानीको अभाव भएको हो । खानेपानीको अभाव भएकाले दमकलबाट घरघरमै पानी वितरण गरिएको फिदिम–४ का वडाध्यक्ष प्रकाश गुरुङले बताए ।

पहिलो दिनमा ९ पटक दमकलबाट पानी ओसारेर वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी डम्बरबहादुर आङदेम्बेले बताए । फिदिम बजार, जोरसाल र थाक्ले क्षेत्रमा पानी वितरण गरिएको उनले बताए ।

मर्मत भएर धारामा पानी आउन अझै केही दिन लाग्ने बताइएको छ । धारामा पानी नआउनजेलसम्म पानी वितरण गरिने नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले बताए । खानेपानीको पाइप फुटेकाले मर्मत गरी धारामा पानी आउन अझै केही दिन लाग्ने उपभोक्ता समितिका अध्यक्ष गजाधर भट्टराईले बताए ।