सङ्खुवासभाः आज बिहान ९ बजे सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका, वडा नं.–४ खेवरिङमा बाटो खन्ने क्रममा झरेको ढुङ्गाले लागेर एक्साभेटर चालकको मृत्यु भएको छ ।
बाटो माथिबाट स्काभेटरमा ढुङ झरी स्काभेटर बाटोबाट अन्दाजी ३० मिटर तल खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ । सो घटनामा स्काभेटर चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.–१ बस्ने पतरुष श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी चौकी बाह्रबिसे सङ्खुवासभाबाट प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित राखेको र घटनास्थल मुचुल्का लगायत थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी निरीक्षक सहितको टोली खटिई गएको बताइएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याइने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका मिडिया समन्वय अधिकृत प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए ।