उदयपुरः उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकामा अवस्थित ऐतिहासिक उदयपुरगढीमा स्थानीय पर्यटन प्रवद्र्धन र विकासका लागि व्यवस्थापन गर्न अहिले सबैभन्दा जटिल समस्या खानेपानीको देखिएको छ ।
गढीक्षेत्रमा अहिले झण्डै एक दर्जन घरबास (होमस्टे) सञ्चालन गरिएको भए पनि पर्याप्त खानेपानी नहुँदा घुम्न आउने पर्यटकका लागि व्यवस्थापन गर्न समस्या हुने गरेको गढीका एक घरबास सञ्चालक कृष्णदेव धमला बताउँछन् ।
पर्याप्त खानेपानीको व्यवस्थापन हुन नसक्दा गढीका स्थानीयवासीले समेत अहिले पिउने पानीको निकै कष्ट भोग्नुपरेको स्थानीय गङ्गा कार्की बताउँछन् । घरबास सञ्चालक यादव राईका अनुसार टाढाको मुहानबाट गाउँपालिकाले सामान्य खानेपानीको धाराको व्यवस्था गरेको भए पनि त्यो पर्याप्त नहुँदा समस्या आएको छ ।
गढी घुम्न आएका पर्यटकले समेत पर्याप्त पानी नपाउँदा घरबासमा बास बस्न नमान्ने र सामान्य घुमफिर गरेर तल नेपालटारतिर बास बस्न झर्ने गरेको घरबास सञ्चालक धनप्रसाद धमलाको भनाइ छ ।
पृथ्वीनारायण शाहले नपाल एकीकरण गर्नुअघि उदयपुरको चौदण्डीगढी र उदयपुरगढी छुट्टै सेनवंशी राजाले राज्य गर्दै आएको र उदयपुरगढीमा उदय सेनले राज्य गर्ने गरेकाले यसको छुट्टै पहिचान रहेको उदयपुरगढीका बुद्धिजीवी तथा समाजसेवी बोधकुमार घिमिरे बताउँछन् ।
अहिले नेपाल सरकार, पर्यटन मन्त्रालयले तयार गरेको पर्यटनको सय सूचीमध्ये उदयपुरगढी पनि एक भएको तर यहाँ लामो समयदेखि खानेपानीको समस्या नै मूल समस्या रहेको समाजसेवी घिमिरेको भनाइ छ ।
उदयपुरगढीलाई पर्यटन केन्द्रको रूपमा विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले समेत अहिले विभिन्न योजना ल्याएको भए पनि जबसम्म खानेपानीको समस्या समाधान हुँदैन, तबसम्म गढीमा पर्यटन विकासको कल्पनै गर्न नसकिने स्थानीयवासी रामप्रसाद खतिवडा बताउँछन् ।
अहिले उदयपुरगढीलाई पर्यटन विकासका लागि दृश्यावलोकन स्तम्भ निर्माण, सडक, विद्युत्जस्ता कार्य व्यवस्थापन हुँदै गए पनि खानेपानीको व्यवस्थान भने अझै प्रभवकारी ढङ्गबाट हुन नसकेको स्थानीयवासी तथा घरबास सञ्चालकको गुनासो छ ।
यस विषयमा उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मोहन केपछाकी मगर स्थानीय सरकारले केही साना खानेपानी योजनाबाट अहिलेसम्म खानेपानीको व्यवस्था गर्दै आएको बताउँछन् ।
तर अहिलेको खानोपानी व्यवस्थापनले यस क्षेत्रमा समस्या समाधान नहुने हुनाले प्रदेश सरकारसँग १ करोडभन्दा बढी रुपैयाँ खानेपानी व्यवस्थापनका लागि बजेट माग गरेर स्थानीय सरकारको बजेटबाट समेत बृहत खानेपानी योजना सञ्चालनका लागि तयारी गरेको अध्यक्ष मगरको भनाइ छ ।
उदयपुरगढीलाई पर्यटकीय विकास गर्न र स्थानीयवासीको समेत जटिल समस्या समाधान गर्न अहिले खानेपानीको समस्या समाधान नै पहिलो खुड्किलो रहेको गढीवासी बताउँछन् ।