विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौतिक निर्माण कार्यको अनुगमनका लागि प्रदेश अनुगमन समिति तयार गरिने बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आइतबार आयोजित आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिक प्रगति समीक्षा बैठकमा उनले प्रदेशमा निर्माण हुने र भएका कार्यको अधिकार सम्पन्न समितिले सुक्ष्म ढङ्गले अनुगमन गर्ने बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राईले सडक, सिँचाइ, कृषिमा प्रतिफल आउने गरी काम सम्पन्न गरी जनताको मुहारमा खुशी ल्याउन सम्बन्धित मन्त्रालयअन्तर्गतका कार्यालयलाई निर्देशन दिए । प्रदेश सरकार गठन भएको १ वर्षमा संरचना, कानुन आदि निर्माणमा समय लागेको बताउँदै उनले सरकारको विकास निर्माण कार्यमा बजेट विनियोजन गर्न कर्मचारी समायोजनले समस्या उत्पन्न भएको धारणा व्यक्त गरे ।
प्रदेशको विकास र समृद्धि कायम गर्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै जिम्मेवारी लिई समयमा तोकिएको विकास निर्माणका कार्य सम्पन्न गर्ने कर्मचारीलाई आगामी दिनमा मूल्याङ्क गरी पुरस्कृतसमेत गरिने उनले बताए ।
प्रदेश प्रमुख सचिव केदार न्यौपानेले जनताको आकांक्षा जोडिएका मन्त्रालयको नतिजा देखाउनेगरी काम गर्न निर्देशन दिए । समीक्षा बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सागरकुमार राईले ४२ वटा कार्यालय रहेको मन्त्रालयमा दक्ष कर्मचारीको व्यवस्थापन नहुँदा अपेक्षित प्रगति गर्न नसकेको बताए ।
महाशाखा प्रमुख अशोककुमार साहले मन्त्रालयअन्तर्गत कार्यालयले तोकिएको समयमा लक्ष्यअनुसार कार्य पूरा गर्ने विश्वास व्यक्त गरे । बैठकमा प्रदेशका सबै सिँचाइ विकास डिभिजन कार्यालयले कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै, कन्काइ सिँचाइ व्यवस्थापन कार्यालय झापा, चन्दा मोहना सिँचाइ मोरङ, भूमिगत सिँचाइ मोरङ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुनसरी, धनकुटा, ओखलढुङ्गा र पाँचथरले आ–आफ्नो कार्यालय प्रगति विवरण प्रस्तुत गरेका थिए ।
समीक्षा बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश योजना आयोग तथा विभिन्न प्रदेश कार्यालयका प्रमुख तथा इञ्जिनियर सहभागी थिए ।