इटहरी/ अघिल्लो साताको अन्तिम ३ दिन ओम डेभलपमेन्ट बैंकको अधिक कारोबार भयो । कारोबार रकममा यो बैंक तेस्रो स्थानसम्म आयो भने सेयर सङ्ख्याका आधारमा पहिलो स्थानसम्म आयो ।
सो बैंकको बारेमा कतै पनि कुनै समाचार प्रकाशित भने भएको थिएन । सो कम्पनीको बढी कारोबार हुनुको रहस्य आइतबार खुलेको छ । सो बैंकलाई प्राइम बैंकले किन्ने लगभग निश्चित भएको भन्ने समाचार आइतबार सार्वजनिक भएको छ । दुवै बैंकबीच आइतबार नै सम्झौतापत्रमा हस्ताक्षर हुन सक्ने पनि बताइएको छ । प्राइमले किन्ने भएपछि नै सो कम्पनीको अधिक कारोबार भएको अनुमान गरिएको छ । त्यसरी कारोबार हुनुमा इन्साइडर ट्रेडिङको सम्भावना पनि रहेको हुन सक्ने बताइएको छ ।
हाल प्राइमको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ छ । ओमको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ छ । ओमले ६० देखि ६५ प्रतिशत स्वाप खोजेको छ भने प्राइम बैंक घटाउने कोशिसमा रहेको बुझिएको छ । आइतबार भने दोस्रो बजारमा आइतबार दुवै कम्पनीको सेयर मूल्य घटेको छ । प्राइमको प्रतिकित्ता २ सय ९९ रुपैयाँ तथा ओमको प्रतिकित्ता १ सय ९६ रुपैयाँको आसपासमा कारोबार भइरहेको छ ।
आइतबारको सेयरमूल्यलाई हेर्दा ओमले ७० प्रतिशत स्वाप रेसियो पाउँदा मात्रै ओमका लगानीकर्तालाई तुलनात्मक रूपमा फाइदा हुने देखिन्छ । प्राइमलाई एक्वायर गर्ने सम्झौतामा आइतबार बेलुका हस्ताक्षर हुन सक्ने बताइएको छ ।