विराटनगरः उपप्रधान एवंम रक्षा मन्त्री ईश्वर पोख्रेलले विप्लव सम्बद्ध पार्टीले हतियार बुझाए वार्ता गर्न सरकार तत्पर रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोख्रेलले मान्छे तर्साउने गरी बम बारुद बोक्ने शक्तिसँग सरकार एक्कासि वार्ता गर्न नसक्ने भन्दै नि शस्त्र हुनुपर्ने पहिलो सर्त रहेको बताए ।
मन्त्री पोख्रेलले विप्लवका गतिविधिमाथि मात्र सरकारले प्रतिबन्ध लगाएको भन्दै पार्टी नै प्रतिबन्ध गरिएको भन्नु गलत रहेको बताए । सरकारप्रति अफवाहा फैलाउने काममा लागेको भन्दै सरकारले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध नगरेको स्पष्ट पारे ।
सरकारले सेना परिचालन गर्ने तयारी भएको भन्ने हल्ला निराधार रहेको समेत बताए । उनले प्रधानमन्त्री ओलीको भनाइलाई केन्द्रित गर्दै सेना परिचालन हुन्छ भन्ने कुरा सरकारको सही कुरालाई बुझ्न नचाहने शक्तिले भ्रम फैलाउन खोजेको बताए । उनले सेन परिचालन गर्नेबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयले मात्र प्रस्तावको रूपमा लैजान मिल्ने बताए ।
यदि देशमा विशेष परिस्थिति सृजना भए परिषद्को बैठक बस्ने समय नहुँदा मात्र परिषद्को अध्यक्ष भएको नाताले प्रधानमन्त्रीले राष्ट्रपति समक्ष प्रस्ताव लग्ने र स्वीकृत गर्ने व्यवस्था रहेको बताए । हल्लाका भरमा सेना परिचालन गर्ने विषय सही नभएको पनि स्पष्ट पारे ।