बेलबारीः ट्रिपर व्यवसायीको निगरानी गर्दै आएको ट्राफिक प्रहरीले आजदेखि ट्रिपर सञ्चालनमा थप कडाइ गर्ने भएको छ ।मोरङको भाउन्नेमा ट्रिपर व्यवसायी र चालकलाई बोलाएर प्रहरीले सडकमा ट्रिपरको लागि समयसीमा तोकिदिएको छ । प्रदेश नम्बर १ का तराईका ३ जिल्लामा समयसीमा तोकिएको हो । झापा, मोरङ तथा सुनसरीलगायतका जिल्लामा समय तोकिएको छ ।

भाउन्ने– विराटचोक ९ किलोमिटर २० मिनेट, विराटचोक– गछिया ७ किलोमिटर १५ मिनेट, गछिया –खनार १० किलो मिटर २५ मिनेट, खनार –नेमुवा ९ किलोमिटरलाई २० मिनेट तथा रङ्गेली– उर्लाबारी ३६ किलो मिटरलाई १ घन्टा १२ मिनेट समय सीमा तोकिएको छ ।

त्यस्तै, भाउन्ने –उर्लाबारी १७ किलोमिटर ३५ मिनेट समय तोकेको छ । इनरुवा– कोशीकटान १६ किलोमिटर २५ मिनेट, तरहरा –धरान– तिनकुन १० किलोमिटर २० मिनेट समय ट्राफिक प्रहरीले तोकेको छ ।समय भन्दा अगाडि नै तोकिएको स्थानमा पुग्ने ट्रिपरलाई तीव्र गतिमा सवारी कुदाएको कसुर अन्तर्गत कार्वाही गरिने ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतमले बताए । 

ट्रिपरबाट धेरै धनजनको क्षति भएकाले त्यसलाई रोक्नका लागि नियम बनाइएको उनले बताए । उनले प्रदेशका सबै जिल्लामा यो नियम लागू गरिने समेत बताए । धेरै घना बस्ती रहेका जिल्लाका मुख्य बजारमा नियम बनाइएको उनले बताए ।ट्रिपरका चालकलाई दैनिक सडकमै भेला गराएर प्रशिक्षण दिने गरेको ट्राफिक पोष्ट बेलबारीका प्रमुख लीला श्रेष्ठले बताए । सडकमै आँखा परीक्षणसमेत गर्ने गरिएको श्रेष्ठले बताए । ‘चालकसँग दुई मिनेट’लगायतका कार्यक्रम ट्राफिकले गरिरहेको छ ।