झापाः नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताएका छन् ।
झापाको बिर्तामोडमा नेपाल प्रेस युनियनले आज गरेको पत्रकार सम्मेलनमा उनले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइन विपरीत बोलेका विचार निजी हुने स्पष्ट पारे ।
पार्टीको आधिकारिक धारणा के हो भनेर प्रश्न उठ्यो भने कुनै अलमलमा पर्न जरुरी नभएको र महाधिवेशनले जे भनेको छ, त्यही पार्टीको धारणा भएको उनले बताए । सत्तासँग असन्तुष्ट विप्लव समूहलाई वार्तामा ल्याउनेसमेत औकात अहिलेको सरकारसँग नभएको पनि उनले बताए ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सशस्त्र सङ्घर्षमा रहेको तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको स्मरण गर्दै उनले अविलम्ब विप्लव समूहलाई वार्तामा ल्याउन अनुरोध गरे ।