विराटनगरः प्रदेश नं १ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनतालाई ठोस र सुनिश्चित सेवा पाउने उद्देश्यले काम गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
मन्त्रालयद्वारा हिजो विराटनगरमा आयोजित चालु आर्थिक वर्ष २०७५÷०७६ को दोस्रो चौमासिक प्रगति समीक्षा बैठकको समापनका अवसरमा प्रदेशमा निर्माण कार्य गर्दा मन्त्रालयको हित, पारदर्शी र तोकिएको समयमा सम्पन्न हुनेगरी गर्न आग्रह समेत गरिएको छ ।
सो अवसरमा मन्त्रालयका सचिव सागरकुमार राई र अनुगमन महाशाखा प्रमुख अशोक साहले विकाससम्बन्धी कार्यको उपलब्धि र नतिजा प्रत्यक्ष रूपमा देखिनुपर्नेमा जोड दिए । बैठकमा पूर्वाधार विकास कार्यालय पाँचथर, झापा, मोरङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, ओखलढुङ्गा तथा यातायात पूर्वाधार निर्देशनालय, सुनसरीले दोस्रो चौमासिक बैठकमा गरेका कार्यको विववरण प्रस्तुत गरेका थिए ।
यसैगरी शहरी विकास तथा भवन कार्यालय इलाम, मोरङ, धनकुटा, ओखलढुङ्गा, कोशी रिफ्रेश्मेन्ट सेन्टर सुनसरी, नयाँ शहर आयोजना पाँचथर र वसन्तपुर कार्यालयका प्रमुखले प्रगति विवरण प्रस्तुत गरेका थिए । यस्तै यातायात व्यवस्था कार्यालय झापा, कोशी, सुनसरी, सवारी चालक अनुमतिपत्र कोशी, सुनसरी, यातायात व्यवस्था सेवा कार्यालय इलाम, मोरङ र उदयपुरले दोस्रो चौमासिकका अवसरमा गरेको कार्यको विवरण प्रस्तुत गरेका थिए ।
२ दिनसम्म सञ्चालन भएको उक्त बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश योजना आयोग तथा विभिन्न प्रदेश कार्यालयका प्रमुख र इञ्जिनियरको सहभागिता थियो ।