इटहरीः पश्चिमी वायुको प्रभावले हिजोदेखि देशभरको मौसम बदली भएको छ । पश्चिमी क्षेत्रबाट शुरु भएको मौसम बदली पूर्वी क्षेत्रमा आइपुगेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

हिजो बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभाव पूर्वी क्षेत्रमा आइपुगेको हो । महाशाखाका अनुसार मेघ गर्जनसहित हल्का तथा मध्यम वर्षाको सम्भावना देशभर रहेको छ ।

प्रि–मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुने बताइएको छ । राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही उच्च पहाडी भेगका केही स्थानमा र हिमाली भेगका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।