इलामः इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन् । खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फँडानी हुँदा संरक्षणको सूचीमा रहेका गिद्ध मृतावस्थामा भेटिएका हुन् । सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सीमा एक वर्षअघि ८ वटा गिद्ध मृत भेटिएका थिए ।

हुल बाँधेर उड्ने गिद्ध मर्नुको कारण हिंस्रक जङ्गली जनावरको आतङ्क रोक्न औषधिसँगै राखिएको सिनो थियो । चेतना अभावमा जङ्गली जनावर चितुवा, बँदेल र स्याल मार्न पशुको सिनोमा विष लगाएर जङ्गल छेउमा राख्ने गरेकाले त्यही सिनो गिद्धले खाँदा मृतावस्थामा भेटिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए । गिद्ध मरेको देखेपछि गाउँपालिकाले सबै वडामार्फत विष प्रयोग गरेको सिनो नफ्याँक्न आग्रह गरेपश्चात मृत गिद्ध नदेखिएको राईले बताए ।

विश्वमा सङ्कटापन्न अवस्थामा रहेको गिद्ध संरक्षणका लागि सरकारी पहल नहुँदा कसरी संरक्षण गर्ने भन्नेबारे योजना बनाउन नसकिएको सदकपुर–१ का अध्यक्ष नन्द राईले बताए । १० वर्ष अघिसम्म प्रशस्त मात्रमा भेटिने गिद्ध हराउँदै गएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए ।

लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको बासस्थान रहेको क्षेत्रमै गिद्धको बासस्थान प्रशस्त भेटिए पनि अहिले कम मात्रामा देखिने गरेको संरक्षणकर्मी धनबहादुर खाम्दाकले बताए ।

इलामको सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको २ हजार ५ सय मिटरमाथि गिद्ध बेलाबेला देखा पर्ने गरेको छ । बेलाबेला देखिने गिद्धको बासस्थान, खानपान र संरक्षणबारे अहिलेसम्म कुनै कार्यक्रम इलाममा भएका छैनन् । नेपालमा सानो खैरो, डङ्गर, लामो ठुँडे, सुन गिद्ध र सेतो गिद्ध पाइने गरे पनि इलाममा पाइने गिद्ध कुन प्रजातिको हो भन्नेबारे यकिनसमेत भएको छैन ।

डिभिजन वन कार्यालय इलामका प्रमुख श्रीप्रसाद बरालका अनुसार पछिल्लो १० वर्षमा गिद्धको सङ्ख्या अत्यधिक कम भएको छ । गिद्ध नासिने मुख्य कारण डाइक्लोफोनेक औषधि प्रयोग भएको पशुहरूको सिनो खाने मुख्य कारण रहेको बरालको भनाइ छ । सरकारले डाइक्लोफोनेकको प्रयोगमा रोक लगाए पनि खुला सिमानाका कारण किसानले प्रयोग गर्ने गरेको पाइएकाले पनि गिद्धको सङ्ख्यामा कमी आएको डिभिजन वन कार्यालयलले जनाएको छ ।

संरक्षणकर्मीका अनुसार नेपालमा लाखौँको सङ्ख्यामा पाइने गिद्ध आज केही हजारमा सीमित छन् । नेपालमा सन् २००२ देखि २०१० सम्मको अध्ययनअनुसार गिद्धको सङ्ख्या अप्राकृतिक रूपमा घटेकाले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले नेपालमा पाइने सानो खैरो, डङ्गर, लामो ठुँडे र सुन गिद्धलाई अतिसङ्कटापन्न र सेतो गिद्धलाई सङ्कटापन्न सूचीमा सूचीकृत गरेको छ । अतिसङ्कटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ ।