झापाः आज बिहान पानी, हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा २ जना घाइते भएका छन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिलचोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरू दुवैलाई घरमै बसिरहेका अवस्थामा चट्याङले लागेको थियो । घाइते दुवैको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । त्यस्तै, हावाहुरीले झापाका विभिन्न स्थानमा बिजुलीका आधा दर्जनभन्दा बढी खम्बा ढालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार भद्रपुर नगरपालिका–१० स्थित भद्रपुर विमानस्थलको पूर्वतर्फ तथा गौरादह–७ ग्वालडुब्बामा एक–एक र बिर्तामोड नगरपालिका–५ मा बिजुलीका दुई खम्बा ढलेका छन् । त्यसैगरी हावाहुरीले मेचीनगर–१५ स्थित नरेश लिम्बू र कचनकवल गापा–६ बस्ने झड्कन ठाकुरको घरको टिनको छानो उडाएको छ ।

भद्रपुर–८ स्थित सगरमाथा चोकमा रहेको प्रहरी बिट पल्टाएको प्रवक्ता श्रेष्ठले बताए । आज बिहान ८ बजेदेखि करिब १० बजेसम्म पानीसँगै हावाहुरी र चट्याङ परेको थियो ।