विराटनगरः प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा हालसम्म सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रममा १७ र प्रदेश सरकारतर्फका कार्यक्रममा ९ प्रतिशत प्रगति हासिल गरेको छ ।
सङ्घीय र प्रदेश सरकारबाट गरी रु तीन अर्ब १५ करोड बजेट पाएको र स्वीकृत कार्यक्रम एवं योजनामा खर्च गर्न मन्त्रालयले अख्तियारी दिए पनि कर्मचारीले विभिन्न बहानामा समयमै काम गर्न नसकेकाले प्रगतिमा कमी देखिएको मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले बताए ।
विसं २०७४ माघ २९ गते स्थापित मन्त्रालयअन्तर्गत वन निर्देशनालय र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र एक एक, डिभिजन वन कार्यालय १५ र भू तथा जलाधार व्यवस्थापन कार्यालय दुई वटा छन् । त्यस्तै उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय एक, घरेलु तथा साना उद्योग कार्यालय तीन (झापा, सुनसरी र मोरङ), घरेलु तथा साना उद्योग विकास समिति ११ वटा छन् ।
मन्त्रालयले आव २०७४÷७५मा विभिन्न कार्यक्रम सम्पन्न गर्नका लागि करीब ६ करोड ५३ लाख विनियोजन भई अख्तियारी प्राप्त भएकामा यी काम सम्पन्न गर्दा करीब ४ करोड १८ लाख रुपैयाँ खर्च भई भौतिक प्रगति ६१ दशमलव ५४ र वित्तीय प्रगति ६४ दशमलव ११ प्रतिशत रहेको देखिएको छ ।
मन्त्रालयको कार्यक्रमअनुसार एक घर पाँच बिरुवा कार्यक्रमअन्तर्गत मोरङ र झापामा ६० हजारका दरले पाँच प्रजाति (इमली, रुख, कटहर, सोहिजन, बेल र अमला)का १ लाख २० हजार बिरुवा उत्पादन भई कृषकलाई वितरण गरिएको छ । ताप्लेजुङ, भोजपुर, ओखलुढुङ्गा, धनकुटा, तेह्रथुम र पाँचथरमा विशेष क्षेत्र लक्ष्य गरी कृषकलाई रुद्राक्ष, चाँप, लौठसल्ला, लामपाते आदि प्रजातिका १२ हजार आयमूलक बिरुवा खरीद गरी वितरण गरिएको पनि बताइएको छ ।
त्यस्तै, चुरे संरक्षण र चरिचरन नियन्त्रणका लागि सुनसरी, मोरङ, झापा र इलाममा चुरेको महत्व र चरिचरन व्यवस्थापनसम्बन्धी एफएम रेडियोमार्फत जनचेतनामूलक प्रचारप्रसार, सूचनापाटी निर्माण गरी चुरे क्षेत्रमा हटस्पट स्थापना, जनचेतनामूलक ब्रोसर तथा लिफलेट तयारी र प्रकाशन गरी वितरण गरिएकोब बताइएको छ ।
वन डढेलो रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम (एफएम, रेडियोबाट जनचेतनामूलक सन्देश प्रवाह, प्रचारप्रसार र सूचनापाटी निर्माण आदि) सञ्चालन तथा वन डढेलो नियन्त्रण सञ्जाल गठनलगायत काम गरेको प्रगति विवरणमा उल्लेख छ ।