पाँचथरः पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको पाइपलाइन भीरको टाकुरामा खुस्किएपछि फिदिममा खानेपानीको अभाव भएको छ ।

आयोजनाको फिदिम नगरपालिका–१ नाम्दु खोलास्थित छङछङे झरना छेउमा भीरको टाकुरामा डिआइ पाइपको जोड्नी (कब्लिङ) खुस्किएपछि खानेपानीको प्रवाह अवरुद्ध भएको हो । खानेपानी अवरुद्ध भएसँगै फिदिममा खानेपानीको अभाव भएको छ ।

भौगोलिक विकटताका कारण आयोजनाको पाइप नाम्दु खोलामा केही गहिराइमा झारेर पुनः माथि ल्याइएको छ । ठूलाठूला चट्टान र भीर रहेका कारण यहाँ पाइपलाइनलाई सिधा ल्याउन नसकिएको हो । पाइपलाइन सिधा नभएपछि पानीको दवाबका कारण पाइप जोडिएको ठाउँ अड्याउन राखिएको ‘ब्लक’ भत्किएको थियो । ब्लक भत्किएपछि कब्लिङ खुस्किएको हो । फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष गजाधर भट्टराईका अनुसार पानीको दवाबका कारण पाइप जोडिएको ठाउँ (कब्लिङ) खुस्किएको थियो ।

कब्लिङ खुस्किएपछि उक्त स्थानमा पुनः पाइप जोडेर ब्लक निर्माण गरिएको थियो । अध्यक्ष भट्टराईका अनुसार ब्लक सुकेपछि गत ६ गते पानी सञ्चालनमा ल्याइएको थियो । तर, पानीको दवाबका कारण आधा घण्टा बित्न नपाउँदै पुनः ब्लक भत्कियो र कब्लिङ खुस्कियो । गहिरोमा पर्ने उक्त स्थानमा पानीको अत्यधिक दवाब हुँदा ब्लकले नधानेको आयोजनाका कर्मचारीको भनाइ छ । पानी प्रवाह भएको समयमा पाइप हल्लने (भाइब्रेट) हुने गर्दछ । निरन्तरको भाइब्रेटपछि ब्लक भत्किएको उनीहरूको भनाइ छ ।

सो स्थानमा पछिल्लो पटक एउटा ब्लक र दुई वटा सहयोगी (सपोर्ट) ब्लक निर्माण गरिएको छ । ब्लक भत्कन नदिन यस पटक आयोजनाको निर्माण ‘स्टिमेट’मा भएभन्दा फरक रड र तार जाली समेतको प्रयोग गरी ब्लक निर्माण गरिएको छ । आइतबार ब्लक निर्माण कार्य पूरा भएको अध्यक्ष भट्टराईले बताए । उक्त कङ्क्रिट ब्लक सुक्न कम्तीमा ९० देखि एक सय घण्टा लाग्छ । ब्लक सुक्नेबित्तिकै आयोजनाको पानी सुचारु हुने अध्यक्ष भट्टराई बताउँछन् ।