इटहरीः मोरङको सुन्दरहरैंचाको सुकुना बहुमुखी क्याम्पसका नेपाल विद्यार्थी सङ्घका नेताहरूमाथि क्याम्पस परिसरमै निर्घात कुटपिट भएको छ ।
दोहोरो सुविधा लिने शिक्षकको निलम्बनको माग गर्दै आएका नेवि सङ्घका विद्यार्थीमाथि निर्घात कुटपिट भएको हो । सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको निर्देशनमा उनीहरूमाथि कुटपिट भएको नेवि सङ्घका पूर्व इकाइ सभापति सुमन ढकालले बताए ।
कुटपिटपछी घाइते भएका क्याम्पस इकाइ सभापति विजय तोलाङ्गीको नोबेल मेडिकल कलेजमा आइसियु कक्षमा उपचार भइरहेको बताइएको छ । त्यस्तै नेवि सङ्घका क्षेत्रीय सभापति होमनाथ पोख्रेल, इकाइ सदस्य जीवन बस्नेत र समीर सम्राट पनि घाइते भएका छन् । उनीहरूको भने सामान्य उपचार कक्षमा उपचार भइरहेको ढकालले जानकारी दिएका छन् ।
दोहोरो सुविधा लिइरहेका १५ जना प्राध्यापकको विरुद्धमा नेवि सङ्घले आवाज उठाउँदै आएकोे थियो । त्यसको विरुद्धमा हालको स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गरिरहेको अनेरास्ववियुले विरोध गरे खुट्टा भाँच्ने भन्दै चैत १२ गते विज्ञप्ति निकाल्यो ।
१३ गते बुधबार नेवि सङ्घको टोली क्याम्पस प्रशासनमा ज्ञापनपत्र बुझाउन गएको थियो । तर क्याम्पस प्रमुख नभएपछि सहायक क्याम्पस प्रमुख अधिकारी उपस्थित भएका थिए । नेवि सङ्घका नेताहरूले क्याम्पस प्रमुख नै चाहिने भनेपछि सहायक प्रमुख अधिकारीले अखिलको टोलीलाई बोलाएको ढकालको भनाइ छ ।
दलबलसहित आएको अनेरास्ववियुको टोलीले नेवि सङ्घका नेताहरूमाथि निर्घात कुटपिट गरेको हो । अनेरास्ववियुका जिल्ला सचिव मिलन बस्नेत, स्ववियु सभापति सन्तोष लिम्बू, स्ववियुका सदस्यहरू अनिल कार्की र कमल कार्की लगायत अन्य विद्यार्थी नेताहरूले हातपात गरेका थिए ।
उता अधिकारीले भने आफूले कुनै पनि विद्यार्थी नेतालाई नबोलाएको जिकिर गरे । बरु विद्यार्थीहरूबीच झगडा भएपछि प्रहरीलाई खबर गरेको उनले टेलिफोन सम्पर्कमा बताए ।