ताप्लेजुङः नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावनाविपरीत बोल्दै हिँड्ने आफ्नै पार्टीका जिम्मेवार नेता प्रति असन्तुष्टि जनाएका छन् ।
जिम्मेवार नेताले संविधान विपरीत सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताका विषयमा फरक विचार राख्दै हिँड्नुले पार्टी नै कमजोर अवस्थामा पुग्ने खतरा बढेको उनको भनाइ थियो ।
ताप्लेजुङमा आज आयोजित कार्यकर्ता भेटघाट तथा विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै पार्टीको नेतृत्वमा बनेको संविधानमाथि नै प्रश्न चिह्न खडा हुने गरी पार्टीको विधान र निर्णय विपरित नबोल्न आग्रहसमेत गरे ।
पार्टीको महाधिवेशनले पारित गरेका विधान, नीति तथा कार्यक्रम नै पार्टीको आधिकारिक धारणा भएकाले संविधानको मर्म विपरीत बोल्ने नेताका विचार निजी विचार भएको उनले बताए ।
पार्टीको नेतृत्वसमेत कमजोर भएकाले पछिल्लो निर्वाचनमा पराजय बेहोर्नु परेको उनको तर्क थियो ।