विराटनगरः ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलले प्रदेश नम्बर १ को प्रदेशसभामा बुधबार पनि निरन्तरता पाएको छ ।
सो विधेयकमा प्रदेशसभा सदस्यहरू उपेन्द्रप्रसाद घिमिरे, उषाकला राई, खिनुलाम्बा लिम्बू, नवोदिता चौधरी, निरन राई, राधा थापा, रामबहादुर मगर, लक्ष्मण तिवारी र लोकप्रसाद सङ्ग्रौलाले आफ्ना धारणा राखेका थिए । जनतालाई नजोडीकन दिगो विकास हुन नसक्ने भएकाले विधेयकलाई अझ परिपक्व बनाउन र परिस्कृत गर्न विषयगत समितिमा लैजानुपर्ने सांसदहरूको माग थियो ।
विधेयक होटल, लज, रेष्टुराँ, ट्राभल्स र ट्रेकिङका बारेमा बढी लचकता देखिए पनि पूर्वाधार विकास, पर्यटन क्षेत्रको पहिचान र विकासमा विधेयक स्पष्ट हुन नसकेकाले विधेयक विषयगत समितिमा जानुपर्ने प्रदेशसभा सदस्यले धारणा राखेका थिए ।
त्यस्तै, बैठकको शून्य समयमा प्रदेशसभा सदस्य राजन राईले खोटाङका हर्कबहादुर विश्वकर्माको विराटनगरस्थित कारागारमा हालै मृत्यु भएको घटनाको सत्यतथ्य कुरा बाहिर ल्याउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
प्रदेशसभा सदस्य सूयर्माराज राईले मोरङको सुन्दरहरैचा नगरपालिकास्थित सुकुना माविमा दोहोरो सुविधा लिने प्रधानाध्यापक र शिक्षकको विरोधमा ज्ञापनपत्र बुझाउन जाने विद्यार्थीमाथि गरिएको आक्रमणमा दोषीलाई कारवाही गर्न प्रदेश सरकारसँग माग गरे ।
प्रदेशसभा सदस्य हीरा थापाले सरकारले भूमि सम्बन्धमा विधेयक ल्याएर किसानलाई उत्पादन बढाउन तथा कृषिमा आकर्षण बढाउन मल र बीउको समुचित प्रबन्ध मिलाउन माग गरे । प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।