धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर गुरु खनाल र रजिष्टार तुलबहादुर श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने दबाब बढेको छ ।

प्रतिष्ठानका डाक्टर, विद्यार्थी तथा कर्मचारीले रेक्टर गुरु खनाल र रजिष्टार तुलबहादुर श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै आआफ्नो वृत्तमा कुरा गर्न थालेका छन् ।

प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई गैरकानुनी तरिकाले हटाउन लागिपरेको र काम गर्न असहयोग गरेको प्रमाणित भइसकेकाले अब पदमा बस्न नहुने विश्लेषण प्रतिष्ठानभित्र हुन थालेको छ ।

रेक्टर गुरु खनालले अदालतको स्टे अर्डरलाई समेत अपव्याख्या गरेर अदालत भन्दा मन्त्रालयको पत्र ठूलो भन्दै केही दिन अगाडि निमित्त उपकुलपति हुँ भन्दै उपकुलपति रौनियारमाथि असभ्य व्यवहार गरेको विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाज तदर्थ समितिका संयोजक राजन कोइरालाले रेक्टर खनाल र रजिष्टार श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

‘उहाँहरुसँग नैतिकता छ भने राजीनामा दिएर उपकुलपतिलाई काम गर्ने वातावरण बनाउनुपर्छ’, कोइरालाले भने, ‘उपकुलपति हटाउने र उहाँलाई असहयोग गर्ने कार्यमा रेक्टर र रजिष्टार लागेका छन् भन्ने कुरा अब नागरिकस्तरमा समेत पुष्टि भएको छ । यस्तो बेलामा पदमा बसिरहन नैतिकताले नदिनुपर्ने हो ।’

‘उपकुलपति रौनियारले नै डा. खनाललाई रेक्टर (शिक्षाध्यक्ष) नियुक्तिका लागि सिफारिश गरेको र उहाँविरुद्ध नै काम गरेको प्रमाणित भएपछि रेक्टर पदमा बसिरहन त नमिल्नुपर्ने हो,’ प्रतिष्ठानका एक वरिष्ठ चिकित्सकले भने, ‘यस्तो बेलामा नैतिकताका आधारमा राजीनामा दिएर छवि सुधार गर्नु राम्रो हुन्छ ।’

प्रतिष्ठानका एक शिक्षकका अनुसार रेक्टर खनालमाथि सबैभन्दा ठूलो नैतिकताको प्रश्न उठेको छ । ‘रजिष्टार भनेको माथिबाट नियुक्त भएर आएका हुन्, तर रेक्टर त उपकुलपतिले नै नियुक्तिका लागि सिफारिश गर्नुभएको हो । जसले नियुक्ति गरेको छ उसैका विरुद्ध निर्णय गरेर अदालतले निर्णय बदर गरिदिएपछि पदमा बसिरहन कुनै हालतमा मिल्दैन,’ ती शिक्षकले भने ‘उहाँले निमित्त उपकुलपतिको पत्र पाउनासाथ गरेका केही हर्कत (कार्य)ले उहाँमाथि नैतिकताको प्रश्न उठेको छ ।’

खनालले राजीनामा दिएर भविष्ययमा अर्को नियुक्ति लिने बाटो बनाउनु उपयुक्त हुने उनले बताए । रेक्टर खनाललाई निर्वाचन आचारसंहिता लागू भएपछि नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले नियुक्ति गरेको भन्दै वर्तमान सरकारले अघिल्लो सरकारका निर्णयहरु खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै रेक्टर खनाल पनि पदमुक्त भएका थिए । तर अघिल्लो सरकारका निर्णय खारेज गर्ने निर्णय तत्काललाई कारबाही नगर्नू भन्दै अदालतले गत भदौ १४ गते अन्तरिम आदेश दिएपछि खनालसहित अन्य धेरै पदाधिकारीहरुको पद थमौती भएको थियो ।

‘रेक्टर खनालले यस्तो बेलामा पदबाट राजीनामा दिएर प्रतिष्ठान र सरकार दुवैलाई सहयोग गर्नु राम्रो हुन्छ,’ धरान–१८ का वडाध्यक्ष प्रविन राईले भने, ‘उहाँहरुकै कारण प्रतिष्ठानमा काम गर्ने वतावरण बिग्रनु राम्रो होइन ।’

नेपाल लाइफसँग भएको बीमा सम्झौताको छानबिन गर्न माग
यसैबीच, प्रतिष्ठान भित्रका कर्मचारीहरुले प्रतिष्ठानको नियम विपरीत नेपाल लाइफ इन्स्योरेन्ससँग भएको सम्झौता र गरिएको भुक्तानीका विषयमा छानबिन गर्न माग गरेका छन् ।

प्रतिष्ठानका कर्मचारी र विद्यार्थीहरुको इन्स्योरेन्स गर्ने भन्दै नेकपाका एक स्थानीय नेतासँग गरिएको सम्झौताको विषयमा छानबिन हुनुपर्ने कर्मचारी कल्याण तदर्थ समितिका संयोजक राजन कोइरालाले माग गरेका छन् ।