विराटनगरः ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ यस वर्ष नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कार छनोट समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपाल पत्रकार महासङ्घ मोरङले महासङ्घ स्थापना दिवसको अवसर पारेर प्रदान गर्दै आएको सो पुरस्कारको राशि रु ५१ हजार छ ।

यसैगरी, यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ नयाँ पत्रिका दैनिकका प्रदेश नं १ समाचारदाता गणेश लम्साललाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ११ हजार छ । दुवै पुरस्कार यही चैत १६ गते महासङ्घको ६४ औँ स्थापना दिवसका अवसरमा प्रदान गरिने छ । सूचनाको अधिकारका क्षेत्रमा क्रियाशील विराटनगर–११ का केदारबहादुर बस्नेतले धर्मपत्नी षष्टिकाको स्मृतिमा २०७३ सालमा सो पुरस्कार स्थापना गरेका हुन् । बस्नेतले पुरस्कारका लागि नेपाल पत्रकार सङ्घ मोरङअन्तर्गत रु ७ लाखको अक्षयकोष स्थापना गरेका हुन् ।

उक्त पुरस्कार सूचनाको हक प्राप्तिका लागि जागरण अभियानको नेतृत्व गर्ने व्यक्ति वा संस्थालाई २०७४ सालदेखि प्रदान गरिँदै आएको छ । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, पत्रकार यज्ञ शर्मा र सूचना अभियानकर्मी निर्मल तामाङ रहेको छनोट समितिले पुरस्कृत हुने व्यक्तिको छनोट गरेको हो ।