बेलबारीः शिक्षकले दोहोरो सुविधा लिएको भन्दै नेवि सङ्घले विरोध गरेपछि मोरङको सुकुना बहुमुखी क्याम्पसमा तनाव बढ्दै जान थालेको छ ।

सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना मावि र क्याम्पसमा कार्यरत १३ जना शिक्षकले लिइरहेको दोहोरो सुविधा खारेज गर्न नेवि सङ्घले माग गर्दै आएको थियो । बुधबार सोही माग लिएर क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउन खोज्दा नेवि सङ्घ र अनेरास्ववियुका विद्यार्थीबीच झडप हुँदा ४ जना घाइतेसमेत भए ।

सुनियोजित आक्रमण गरेर विद्यार्थी घाइते बनाएको भन्दै काङ्ग्रेस निकट नेवि सङ्घ र महिला सङ्घले बिहीबार क्याम्पस गेटमा धर्ना दिएर कोणसभा गरेका छन । उनीहरूले दोहोरो शैक्षिक सुविधा खारेज नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

क्याम्पस प्रमुखसहित १३ जना प्राध्यापकले लिएको दोहोरो सुविधाको विरोधमा शान्तिपूर्ण आन्दोलनमा रहेको नेपाल विद्यार्थी सङ्घका नेता कार्यकर्तामाथि भएको आक्रमणको भत्र्सना गरिएको छ । बुधबारको घटना सुनियोजित भन्दै नेवि सङ्घ क्षेत्र नम्बर ३, नेवि सङ्घ सुकुना बहुमुखी क्याम्पस ईकाई समिति र नेवि सङ्घ सुन्दरहरैचाले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

नेवि सङ्घ क्षेत्र नम्बर ३ का अध्यक्ष होमनाथ पोख्रेल, नेवि सङ्घ सुन्दरहरैंचाका अध्यक्ष गोपाल कार्की, सचिव निश्चल घिमिरे, नेवि सङ्घ सुकुना ईकाइ उपसभापति अनिता गजुरेल, सचिव समीर सम्राटद्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा क्याम्पस प्रमुख समेत घटनाको मुख्य योजनाकार रहेको आरोप लगाइएको छ ।

विज्ञप्तीमा स्ववियु सभापति सन्तोष लिम्बू, सदस्य कमल कार्की, अनिल कार्की, नवीन गिरी, अनेरास्वबियु सुकुना क्याम्पस कमिटिका अध्यक्ष मिलन बस्नेत, संलग्न रहेको बताइएको छ । त्यस्तै, अनेरास्वियुका नेता विवेक भुजेल, क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीसमेतको मुख्य योजनामा विद्यार्थीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, क्याम्पस प्रशासनले भने मोरङको सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक केशव भट्टराईमाथि आक्रमण भएको जनाएको छ ।

नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला अर्का युवा नेता ललित श्रेष्ठ, नेपाली काङ्ग्रेस प्रदेश सचेतक केदार कार्की लगायतको नेतृत्वमा आएको समूहले बुधबार बेलुकी आक्रमण गरेको भट्टराईले आरोप लगाएका छन् । आक्रमणबाट छाती र पेटमा चोट लागेको उनले आरोप लगाए ।

बुधबार बेलुकी स्नातकोत्तर तहको अध्यापन सकेर भाइबाको लागि क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठसँग छ्लफल गरी क्याम्पस परिसरबाट बाहिर निस्किने क्रममा आक्रमण गरेको प्राध्यापक भट्टराईले बताए । राजनीतिक रूपले नेतृत्व तहमा पुगिसकेका नेताकैै अगुवाईमा आएको समूहबाट आक्रमण हुनु अनपेक्षित र दुुुखद भएको उनले बताए । सो घटनाको भत्र्सना गर्दै पब्लिाक क्याम्पस प्राध्यापक सङ्घले विरोध गर्दै विज्ञप्ति निकालेको छ ।

यता, क्याम्पस प्रशासनले समेत विज्ञप्ती निकाल्दै विद्यार्थीबीच भएको दोहोरो दुखद भएको बताएको छ । झडपमा परी घाइते भएका विद्यार्थीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वार्ताका माध्यमवाट क्याम्पसको पठनपाठनलाई सहज बनाउन समेत प्रशासनले आग्रह गरेको छ ।

नेवि सङ्घले कुटेर आफ्ना ३ जना विद्यार्थी घाइते बनाएको आरोप अनेरास्वियुले पनि लगाएको छ ।