ताप्लेजुङः नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले विप्लव नेतृत्वको पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि पनि समस्या समाधानका लागि सो पार्टीसँग छलफल र संवाद भइरहेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अगुवाइमा आज आयोजित सर्वपक्षीय बैठकमा बोल्दै उनले विभिन्न सूत्रका माध्यमबाट सो पार्टीसँग समस्या समाधानका विषयमा छलफल र संवाद भइरहेको बताए ।
सरकारले वार्ता, संवाद र छलफलका लागि ढोका खुल्ला राखेको बताउँदै उनले राजनीतिक तवरबाटै समस्या समाधानका लागि सरकार प्रयासरत रहेको स्पष्ट पारे । यस्तै संविधानको दायराभित्र रहेर खुलेका कुनै पार्टी वा समूहलाई निगरानी गर्नुपर्ने कारण नरहेको भन्दै उनले विप्लव नेतृत्वको पार्टीलाई नभई उसले गरेका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएकोसमेत उनको भनाइ छ ।
प्रतिबन्ध लगाउनु अघि पनि विप्लव समूहसँग पटकपटक वार्ता र छलफल भएको तर सहमति नभएपछि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उसका गतिविधिलाई प्रतिबन्ध लगाउनुपरेको उनको भनाइ थियो । बैठकमा बोल्दै केही जनप्रतिनिधिले प्रतिबन्धपछि स्थानीय तहमा विभिन्न चुनौती थपिएको भन्दै चाँडै राजनीतिक तवरले समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।