सोलुखुम्बुः सोलुखुम्बु जिल्लाको फाप्लु विमानस्थलमा विमानको चाप बढेको छ । मौसम प्रतिकूलताका कारण तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका लागि आएका विमानसमेत ‘डाइभर्ट’ भई फाप्लु आउने गरेकाले यहाँ विमानको चाप बढेको बताइएको छ ।

४ दिन अघिदेखि खुम्बुको मौसममा खराबी आउँदा लुक्ला जाने विमान पनि फाप्लुमा अवतरण भएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ । नियमित रूपमा ३ दिनदेखि चार वटा मात्र विमान आवतजावत हुने फाप्लु विमानस्थलमा हाल १२ देखि १५ वटा विमान अवतरण हुने गरेको छ । बुधबार १२ विमानले उडान गरेका छन् ।

मौसममा आएको परिवर्तनले लुक्लाका लागि उडेका विमान फाप्लुमा अवतरण गर्नुपरेको फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्माले जनाए । फाप्लु ओर्लेका यात्रुलाई हावाको गति कम भएको समयमा लुक्ला पु¥याउने कार्य भएकोसमेत उनले बताए ।

बिहान लुक्ला विमानस्थलमा हिउँको थुप्रो लाग्ने र दिउँसो हावाको तीव्रता बढेकाले फाप्लुमा अवतरण गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले बताए । अहिले हिमाल आरोहणको ‘सिजन’ शुरु भएकाले अधिकांश उडानबाट पर्यटक तथा हिमाल आरोही एवं सामग्री आउने गरेका छन् ।

खुम्बु क्षेत्रमा आरोहणको समय भएकाले लुक्लामा हवाई उडानको चाप बढेको बताइएको छ । लुक्लाको विकल्पमा सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल प्रयोग गर्ने गरिएको छ ।

फाप्लु विमानस्थलमा अवतरण गराइएका केही पर्यटक गाडीमार्फत् खुम्बु पासाङल्हामु गाउँपालिका–१ खरी खोलासम्म जीपमार्फत जाने गरेका छन् ।