ओखलढुङ्गाः लामो समय जनप्रतिनिधि नभएका कारण अलपत्र परेका भनिएका आयोजना जनप्रतिनिधि आएपछि पनि उस्तै अवस्थामा छन् ।

यसै क्रममा ओखलढुङ्गाको मोलुङ दोभान पुलःनिर्माणको काम सक्नुपर्ने समयमा भर्खर शुरु गरिएको छ । पहिले सम्झौता भएको म्याद सकिएर फेरि थपिएको म्याद पनि सकिएपछि काम शुरु गरिएको हो ।

पुलको दुवैतर्फ पिल्लर उठाउने काम भइरहेको छ । काम सुस्त भएकाले यो वर्ष पनि काम सक्ने सम्भावना कम छ । तर ठेकेदार कम्पनीका दिपेश लामाले २५ प्रतिशत काम भइसकेको दाबी गरे ।

सांसदलाई पनि ठगे ठेकेदारले

मोलुङ एकबार सडक आयोजना अन्तर्गत पर्ने मोलुङ दोभान र मान्द्रे दोभानको पुलःनिर्माणको काम पुस मसान्तसम्ममा सम्पन्न गर्ने भनेर ठेकेदारले गत चैतमा प्रतिबद्धता जनाए पनि काम भने अघि बढाएनन् । जेठ मसान्तसम्ममा पुलको जीप तयार गर्ने, मङ्सिर मसान्तसम्ममा ट्रष्ट जोड्ने र पुस मसान्तसम्ममा पुलःनिर्माण गरेर माघको पहिलो साताबाट सवारी सञ्चालन हुने अवस्था तयार गर्ने बताइएको थियो । वाइबा केउरिनी जेभी कन्ट्रक्सनका प्रतिनिधि रवीन्द्र लामाले जिल्लास्थित सांसद र सरोकारवालासामु अघिल्लो वर्षको चैत २७ गते लिखित प्रतिबद्धता जनाएका थिए ।

भ्याटसहित रु ४ करोड ३ लाखमा मोलुङ दोभानको पक्की पुल २०७५ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७३ असारमा वाइबा केउरिनी जेबी कन्ट्रक्सनले ठेक्का सम्झौता गरी जिम्मा लिएको थियो । वाइबा केउरिनी जेबी कन्ट्रक्सनले नै २ वर्षअघि सक्ने गरी ठेक्का लिएको मान्द्रे दोभानको पुलको काम पनि अघि बढ्न सकेको छैन ।

जिल्लाका दर्जनभन्दा बढी विकासका आयोजना ठेक्का लागेर पनि निर्माण सम्पन्न गरिसक्नुपर्ने समय सकिँदासम्म काम शुरु नै गरिएको छैन । कतिपय आयोजना आधा काम गरेर अलपत्र अवस्थामा छाडिएको छ ।