झापाः ‘गरीबसँग विश्वेश्वर’ कार्यक्रमबाट प्राप्त भएको एउटा सुँगुरको पाठी र रु ५ हजार बीउ पूँजी अहिले झापाका धेरै किसानको जीवनको ‘टर्निङ प्वाइन्ट’ बनेको छ ।
हल्दीबारी–५ की ६२ वर्षीया विष्णुमाया तामाङलाई पनि यो कार्यक्रम वरदानजस्तै बनेको छ । कार्यक्रममार्फत् पाएको बाख्राको पाठी र बीउ पूँजी तथा तालीमका कारण उनले बचत गर्ने बानीको विकास गरिन् । झापामा पहिलोपटक वि.सं २०५७ मा कार्यक्रम लागू भएदेखि यो कार्यक्रमसँग धेरै जोडिएर आर्थिक स्तर उकासिरहेका छन् ।
झापामा करीब ३ हजार गरीब परिवार यो कार्यक्रममार्फत् लाभान्वित भएका गरीबसँग विश्वेश्वर कार्यक्रमका झापा संयोजक प्रकाश उप्रेतीले बताए । झापामा चालु आर्थिक वर्ष २०७५÷७६ मा यो कार्यक्रमका लागि रु २४ लाख बजेट आएको उनले बताए । जिल्लाका तत्कालीन १२ वटा गाविसमा यो कार्यक्रम लागू छ ।
झापाको ज्यामिरगढी, शान्तिगनर, गरामनी, दुवागढी, जलथल, बालुबाडी, सतासी, चकचकी, चारपाने, गौरादह, पाँचगाछी र जुरोपानीमा गरीबसँग विश्वेश्वर कार्यक्रम सञ्चालित छ ।
कार्यक्रमअन्तर्गत १२ स्थानमा १२ जना सामाजिक परिचालकसमेत खटिएका छन् । जलथलकी सामाजिक परिचालिका मीना उप्रेतीले २ सय ६७ महिला र ३ पुरुष गरी जलथलमा २ सय ७० जना गरीब परिवार लाभान्वित भएको बताइन् ।
गरीबीको रेखामुनि रहेका जनताका लागि यो कार्यक्रम प्रभावकारी बनेको उनको भनाइ छ । कार्यक्रमअन्तर्गत लक्षित वर्गका घरपरिवारलाई बाख्रा तथा सुँगुरका पाठापाठी, आयआर्जन तालीम, बचत गर्ने बानीको विकास, पाँच ५प्रतिशत ब्याजमा बीउ पूँजी उपलब्ध गराइने गरेको कार्यक्रम संयोजक उप्रेतीले बताइन् । बीउ पूँजी तिरेपछि ब्याजसमेत फिर्ता हुने गरेको उनको भनाइ छ ।
कार्यक्रमअन्तर्गतको बीउ पूँजीबापतको करीब रु २० लाख उठ्न बाँकी छ भने जिल्ला समन्वय समितिको खाता रोक्का भएपछि रु ७ लाख रोकिएको बताइएको छ । हल्दीबारी गाउँपालिका– ५ का वडाध्यक्ष होम चुडालले आगामी आर्थिक वर्षदेखि गरीबसँग विश्वेश्वर कार्यक्रमका लागि केही बजेट छुट्याइने बताए ।