इटहरीः नागरिक समाज इटहरीले पुराणलगायतका सामाजिक र सांस्कृतिक कार्यमा बजाइने चर्को माइक निषेध गर्न माग गरेको छ । इटहरी उपमहानगर भित्रका विभिन्न क्षेत्रमा साँझको समयमा बज्ने चर्को आवाजले ध्वनि प्रदुषण बढेको भन्दै उक्त कार्यलाई रोक्न नागरिक समाज इटहरीले माग गरेको छ ।
समाजका अध्यक्ष दिनेश रसाइलीले मेयर द्वारिकलाल चौधरीलाई भेटेर सो विषयमा ध्यानाकर्षण गराएका हुन् । नगरभरी धर्मकर्म, पूजापाठ, पुराण लगायतका कार्यमा बजाइने चर्को माइकमार्फत् विद्यार्थीको पठनपाठन र शान्ति सुव्यवस्थामा असर पर्न गएको भन्दै त्यस्ता गतिविधि रोक्न समाजले आग्रह गरेको छ ।
बाटोमा निर्माण सामग्री राखेर बाटो अवरुद्ध गर्ने कार्य रोक्न पनि समाजले आग्रह गरेको छ । एक विज्ञप्तीमार्फत् समाजले पिच बाटमो सिमेन्ट घोल्न नदिने, बाटोमा राखिएका गमला तथा डस्टबिन भत्काउन रोक लगाउनुपर्ने, छाडा चौपायालाई व्यवस्थापन गर्नुपर्ने, घरको पानी बाटोमा झार्ने कार्य रोक्नुपर्ने माग गरेको छ । नगरपालिकाबाट झण्झटरहित सेवा सेवाग्राहीलाई दिनुपर्ने पनि समाजले माग गरेको छ ।