इटहरीः प्रेस युनियन सुनसरीको नयाँ नेतृत्वमा पवन अधिकारीको चर्चा शुरु भएको छ ।  असोज पहिलो हप्ताभित्रमा नयाँ नेतृत्व चयन हुने भएको छ । अधिकारीको नेतृत्वमा नयाँ नेतृत्व चयन हुने प्रेस युनियनका एक पदाधिकारी बताउँछन् ।
युनियन सुनसरीमा सदस्यता भएका पुरानादेखि नयाँ पुस्तासँग सबैमा भिजेकाले अधिकारीको नेतृत्व सर्वसम्मत हुने देखिएको युनियन स्रोतले बताएको छ । स्रोतका अनुसार रेडियो, टेलिभिजनदेखि पत्रिका सबै मिडियामा कामको अनुभव बोकेका अधिकारी सबै क्षेत्रको साझा उम्मेद्वार बन्ने युनियनका एक सदस्य बताउँछन् ।
हाल युनियनका सुनसरी सचिव रहेका अधिकारीले पनि आफ्नो अध्यक्षतामा नयाँ नेतृत्व दिन युनियनको ठूलो हिस्साले साथ दिएको बताउँछन् । उनी भन्छन्, ‘हकर हुँदै सम्पादकीय बेच्नेसम्म काम गरेको हुनाले मलाई युनियन सुनसरी सभापतिमा उठ्न धेरैले भन्नुभएको छ । सचिव भएर सुनसरी युनियनमा भिजेर काम गरेकाले मेरो नेतृत्वमा युनियनलाई फाइदै हुन्छ ।’

कति छन सुनसरीमा युनियन सदस्यहरू ?
हाल प्रेस युनियन सुनसरीमा १ सय ३२ सदस्यहरू रहेका छन् । अहिले युनियनका सदस्यहरूको सदस्यता नवीकरण भइरहेको छ । नवीकरणमा १ सय २५ जना सम्म पुग्ने अनुमान युनियनको छ । यस्तै, ५० हाराहारी नयाँ सदस्यहरू थपिने युनियनको अनुमान छ ।
समग्रमा १ सय ७५ हाराहारी सदस्यबाट युनियनको नयाँ सर्वसम्मत नेतृत्व चयन हुने बताइएको छ । सहमति नभएमा भने चुनाव हुने बताइएको छ । उपाध्यक्ष अजित झाले नेतृत्वमा दाबा गरेका छैनन् ।
हाल युनियनमा सचिव अधिकारीले सार्वजनिक रूपमा उम्मेदवारी दाबा गरेका छन् । अध्यक्षकै आकांक्षीको रूपमा इटहरीका पत्रकार धनबहादुर पुरीको पनि चर्चा छ । तर, पुरी प्रेस युनियन पूर्वाञ्चलको सचिव भएकाले जिल्ला नेतृत्वमा आउन नैतिक रुपमा असजिलो हुने प्रेस युनियनमा आबद्ध धरानका एक सदस्यले बताए । उनले भने, ‘माथिल्लो तहका अझ माथिल्लो तहमा जाने हो । तल्लो तहका माथिल्लो तलामा जाने त स्वाभाविक हो ।’