झापाः तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच क्रमशः ९ र ६ पालिकामा नेतृत्वको भगबण्डा मिलेपछि नगर तथा गाउँ कमिटी गठन भएका छन् ।
यसैबीच, मेचीनगर नगर कमिटी र नगरका १५ वटै कमिटीका पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण आज सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा सङ्घीय सांसद राम कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी एकता सहजीकरण संयन्त्र कार्यदल मेचीनगरका सदस्य राजु आचार्यले एकीकृत नगर तथा वडा कमिटिका पदाधिकारीको नामसहित नगरमा पार्टी एकताको घोषणा गरेका थिए ।
नगर कमिटीको अध्यक्षमा तत्कालीन माओवादी केन्द्रका माधव अर्याल र सचिवमा तत्कालीन एमालेका खेमराज पोखरेल चयन भएका छन् । नगर कमिटी ८१ सदस्यीय रहेको छ भने वडा कमिटीहरु २९ सदस्यीय रहेको नगर अध्यक्ष अर्यालले बताए ।

पार्टी एकता सहजीकरण संयन्त्र कार्यदल मेचीनगरले आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगर कमिटी तथा वडा कमिटीको एकता घोषणासभा एवम् शपथ ग्रहण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रविन कोइरालाले नगर तथा वडा कमिटीका पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्यक्रम १ नम्बर प्रदेश कमिटी सदस्य तथा पार्टी एकता सहजीकरण संयन्त्र कार्यदल मेचीनगरका सदस्य श्यामवीर लिम्बूको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले नेकपा प्रतिपक्षमा रहँदा अत्यन्तै रचनात्मक र इमान्दार प्रतिपक्षको भूमिका निर्वाह गरेको बताए । अहिले पार्टीको दुई तिहाईको सरकार भएकाले सरकारबाट जनताले धेरै अपेक्षा गरेका हुनाले नागरिकको अपेक्षा पूरा गर्न कार्यकर्ताले सरकारलाई सहयोग गर्नुपर्नेमा वक्ताले जोड दिएका थिए ।

कार्यदलका सदस्य देवकुमार राईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि सांसद तथा नेकपाका केन्द्रीय सदस्य कार्कीका साथै नरेश खरेल, देवेन्द्र दाहाललगायतले बोलेका थिए ।

कार्यक्रममा नेकपाका विष्णु प्रसाई, चिन्तन पाठक, विजय साम्पाङ, रोशन कन्दङ्वालगायत प्रदेश तथा जिल्ला र स्थानीय स्तरका नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो ।

यसैगरी, सङ्घीय सांसद कुमारी मेचे, १ नम्बर प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, झलकसिहं दर्लामी, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेलको पनि कार्यक्रममा उपस्थिति थियो ।