झापाः झापामा लेखापढी व्यवसायमा महिलाहरूको संलग्नता दिनानुदिन बढ्न थालेको छ ।
झापाको दमक आसपासका सरकारी कार्यालयमा सेवाग्राहीका सुविधाका लागि लेखापढी काम गर्ने महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । प्रायः पुरुष मात्र देखिने यस्ता लेखापढी क्षेत्रमा पढेलेखेका महिलाले पनि रोजगारीको क्षेत्र बनाउन थालेका हुन् ।
दमकको मालपोत र नापी कार्यालयमा लेखापढी पेशा गरी आउने महिलाको सङ्ख्या डेढ दर्जन हाराहारीमा पुगेको छ । व्यक्ति वा संस्थागत रूपमा आवश्यक पर्ने सरकारी कागजपत्र तयार गर्ने, प्रतिलिपि लिने तथा कागजात दुरुस्त छ÷छैन भनेर हेर्ने लगायतका काममा लेखापढी गर्ने महिलाको संख्या बढ्दै गएको पाइएको हो ।
भद्रपुरस्थित मालपोत र नापीमा पनि लेखापढी काम गर्ने महिला दुई दर्जन जति छन् । २÷४ वर्षको अवधिमा सो सङ्ख्या पुगेको दमकस्थित मञ्जुश्री लेखापढी फर्मकी सञ्चालक मञ्जु सञ्जेल (भण्डारी)ले बताइन् । त्यहाँ उनले एक जना सहयोगी राखेर तीन वर्षदेखि आफ्नै फर्म खोलेर सेवाग्राहीलाई सेवा दिइरहेकी छिन् ।
अदालतबाट लेखापढी गर्न अनुमति लिनुपर्ने कानुनी प्रावधान भएको यस पेशामा उनले ७ वर्ष अघिदेखि काम शुरु गरेकी हुन् ।
बिएडसम्म अध्ययन गरेकी ३७ वर्षीया मञ्जुले स्वरोजगार बन्नका लागि यो पेशा रोजेको बताइन् । अड्डा अदालतमा पेश गरिने सरकारी कागजपत्र लेख्ने इच्छा र गाउँघरमा नै स्वरोजगार बन्नुपर्छ भन्ने उत्साहले गर्दा यस पेशामा आर्कषित भएको उनको भनाइ छ ।
लेखापढीबाट दैनिक प्राप्त हुने पारिश्रमिकबाट दुई छोराको उच्च शिक्षा अध्ययनमा समेत सघाउ पुगेको उनले बताइन् । लेखापढी गर्ने पेशाकर्मीको सङ्गठन नेपाल लेखापढी तथा कानुन व्यवसायी सङ्घ जिल्ला समन्वय समिति सदस्यसमेत रहेकी मञ्जुले लेखापढी क्षेत्रमा महिला खासै आउन नसकेको बताइन् ।
कागजपत्र बोकेर कुदिरहनु पर्ने काम भएकाले पनि महिलाले यो पेशा नरुचाएको उनको अनुमान छ । त्यस्तै, सेवाग्राहीले विश्वास नगर्लान् भनेर पनि आकर्षण घटेको उनको बुझाइ छ । तर, बिस्तारै महिला पनि आकर्षित हुँदै गएको उनले बताइन् ।
नापी र मालपोत कार्यालयमा कामको अनुभव सँगालेका कमला भण्डारी, देवी पोख्रेललगायतका पुराना व्यवसायीले पनि विगतका वर्षजस्तो महिलाले काम गर्न सक्दैनन् भन्ने भ्रम हट्दै गएको बताए । महिला लेखापढी गर्ने विश्वासिला हुन्छन् भनेर सेवाग्राहीले महिलालाई बढी खोज्न थालेको कमलाले बताइन् ।
नापी र मालपोतमा लेखापढी गर्ने फर्मको सङ्ख्या यस क्षेत्रमा ३ दर्जन पुगेको छ । ती फर्ममा १ सय जना हाराहारी लेखापढीमा संलग्न व्यक्ति भएको नेपाल लेखापढी तथा कानुन व्यवसायी सङ्घ एकाइ समिति दमकले जनाएको छ ।