झापाः ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ यस वर्ष राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष प्राध्यापक पुरुषोत्तम खरेल (पी खरेल) लाई प्रदान गरिने भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र कार्डिफ विश्वविद्यालय बेलायतबाट पत्रकारितामा एड्भान्स् डिप्लोमा गरेका उनी साढे चार दशकदेखि पत्रकारिता र प्राध्यापनमा सक्रिय हुनुका साथै सन् १९८४ देखि नेपाल प्रेस इन्स्टिच्युटमा वरिष्ठ प्रशिक्षकका रूपमा कार्यरत छन् ।
त्यस्तै ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ सुनसरीकी दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र कानुनमा स्नातक घिमिरे वि.सं २०३३ देखि अनवरत रुपमा सामाजिक सेवाका साथै मानवअधिकार संरक्षण र चेलीबेटी बेचबिखन विरुद्धको अभियानमा क्रियाशील छिन् ।
ती पुरस्कारको राशि जनही रु एक लाख १ हजार १ सय ११ रुपैयाँ रहेको रुद्र–गौरी श्री–अम्बिका ओलीे प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले बताए ।
पुरस्कार आगामी वैशाख ७ गते काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा प्रदान गरिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।