अनलाइनको डेस्क, एडमिन सञ्चालन, न्युज पोष्टिङ एवं मल्टिमिडियामा मसँग प्राविधिक ज्ञान र अनुभव भएकाले मैले बेलबारीबाट भर्खरै सुरु हुन थालेको उज्यालो प्रदेशमा यही महिनादेखि रिपोर्टरको जागिर पाएको हुँ । म बेलबारीस्थित कार्यालयमा हाजिर भएर काम गर्न थालेको एक महिना पनि पुगेको छैन । लेखक बन्ने मेरो धोको छ । घर खर्च धान्न पारिवारिक समस्या भएकाले मैले अध्ययन सँगसँगै पत्रकारिता पनि सुरु गरेको हुँ ।

म जस्तो भर्खरै उच्च शिक्षा पढ्दै गरेको सामान्य परिवारको युवकले पत्रकारिता क्षेत्रमा आउन मिल्छ कि मिल्दैन भोजराज अङ्कल ? आज वा अहिल्यैदेखि मिडियाको अफिसमा जागिर खान मिल्छ कि त्योभन्दा पहिले प्रेस युनियनले चिन्ने भएपछि मात्रै यो क्षेत्रमा प्रवेश गर्न पाइन्छ ?

अनि, मजस्तो भर्खरै पत्रकारितामा आएको रिपोर्टरलाई चाहिँ सडकमा जुलुसको तस्बिर लिँदै गर्दा समातेर ड्याम्म ड्याम्म कुटपिट गर्न मिल्छ ? अन्यथा, प्रेस युनियन मोरङको विज्ञप्तिको अर्थ के हो ? झडपका दिन डेरामा सुतिरहेको व्यक्तिलाई ‘नेविसंघको टाउको काट्ने मोर्चाको अगुवा’ भनेर आरोप लगाउनु आफैँमा जघन्य अपराध हो कि होइन ?

प्रेस स्वतन्त्रताका पहरेदार प्रेस युनियनका केन्द्रीय नेताहरूले यसको जवाफ दिउन् । नेपाल पत्रकार महासङ्घले पनि काठमाडौँदेखि बेलबारीसम्मको मेरो ट्रयाक रेकर्ड हेरोस् ।

बराल वेलवारीमा कार्यरत पत्रकार हुन