इटहरीः रिपोटिङकै सिलसिलामा शुक्रवार विराटचौकमा पिटाइ खाएका बेलवारीका पत्रकार निकेश बराललाई न्याय दिन प्रत्रकार महासङ्घ प्रदेश १ समितिले माग गरेको छ । समितिका अध्यक्ष विक्रम लुुइटेलले आज बराललाई निवासमा भेटी दोषीलाई तुरुन्त कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।
बरालको अवस्थाको बारेमा जानकारी लिए पछि प्रदेश पोर्टलसँग कुरा गर्दै लुुइटेलले भने– ‘घटना भएको बेला उनी एक्लै रिपोटिङकै सिलसिलामा गएको बुझियो, निर्बाध रूपमा समाचार सङ्कलन गर्ने वातावतरण बनाउनु सबै पक्षको दायित्व हो ।’ उनले पत्रकार पिट्ने जो कोही भए पनि कारबाही हुनुपर्ने बताएका छन् । ‘विशुद्ध संचारकर्मका लागि गएको मानिस असुरक्षित हुन्छ भने त्यस्ता पक्षलाई राज्यले कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ उनले भने ।
पत्रकार बरालको हातमा चोट पुगेको र अहिले अवस्था सामान्य रहेको उनले जानकारी दिए । पत्रकार बरालले भने हिजै प्रहरीलाई उजुरी दिए पनि अझै सम्म कसैलाई पक्राउ नगरिएको प्रति आश्चर्य व्यक्त गरे । प्रदेश पोर्टलसँग टेलिफोनमा कुरा गर्दै उनले भने– ‘मलाइ आक्रमण गरे लगत्तै प्रहरीले पनि देखेको थियो, त्यसको केही समयमा किटानीसहित उजुरी दिएको हुँ । तर, अहिले सम्म प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।’
उनले आफुुलाई राजनीतिक प्रतिशोधको रूपमा नलिन समेत आग्रह गरे । आफुु पत्रकारितासँग मात्र आबद्ध भएर काम गरिरहेको भन्दै दोषीले उन्मुक्ति पाउन राजनीतिक बहसको सृजना गरिएकोप्रति आपत्ति प्रकट गरे । ‘आज मलाई आक्रमण गर्नेले भोलि अरूलाई गर्ला’, उनले भने ‘हामी जस्ता नयाँ पुस्तालाई स्वतन्त्र र निर्भयपूर्वक पत्रकारितामा काम गर्ने वातावरण बनाउन सबै पक्षसँग आग्रह गर्दछु ।’
प्रदेश समितिका महासचिव विवेक गौतमले पनि दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले भनेका छन् –‘निकेशमाथि भएको आक्रमणको निन्दा गर्दागर्दै दोषीलाई कारबाहीका लागि माग गर्दछु ।’ त्यस्तै पत्रकार महासङ्घ मोरङले समेत उक्त घटनाले ध्यानाकर्षण गराएको उल्लेख गरेको छ ।
समितिका सचिव अर्जुनकुमार आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘ स्वतन्त्रतापूर्वक पेसागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथिको यस प्रकारको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो ।’ विज्ञप्तिमा दोषीलाई कारबाहीको माग समेत गरिएको छ ।
‘स्वतन्त्रतापूर्वक पेसागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथिको यस प्रकारको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो नेपाल पत्रकार महासङ्घ मोरङ शाखा पत्रकार बरालमाथिको आक्रमणको भत्सर्ना गर्दै आक्रमणमा संग्लनको खोजी गरी कडा कारबाहीको माग गर्दछ । साथै प्रेस स्वतन्त्रता विरोधी यस प्रकारको गतिविधिको नियन्त्रण गर्न र पत्रकारलाई निर्वाधरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछौँ । ’ विज्ञप्तिमा भनिएकाे छ ।