काठमाडौँ: पत्रकारले जोखिमपूर्ण समाचार सङ्कलनका क्रममा भोगेका आफ्ना अनुभव आदानप्रदान गरेका छन् । महासङ्घको ६४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम ‘जोखिमपूर्ण अवस्थाको रिपोर्टिङ अनुभव प्रस्तुतीकरण’ कार्यक्रममा उनीहरुले सशस्त्र द्वन्द्व, जनआन्दोलन र भूकम्पमा आफूले भोगका अनुभवलाई आदानप्रदान गरेका हुन् ।
कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले जोखिमपूर्ण भए पनि जनतालाई सुसूचित गर्न पत्रकारिता निरन्तर आवश्यक रहेको बताए । उनले जोखिमपूर्ण अवस्थाको अनुभवबाट पत्रकारितामा नयाँ कुरा सिकिने उल्लेख गरे । महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले जोखिमपूर्ण समचार सङ्कलन पत्रकारितामा अवसर र चुनौती दुवै रहेको बताए ।
पत्रकार महासङ्घका पूर्वसभापति किशोर नेपालले पत्रकारिता क्षेत्रमा रहँदा आफूले पनि विभिन्न समस्या झेल्नुपरेको र समस्याबाट भाग्न नहुने बताए । फोटो पत्रकार चन्द्रशेखर कार्कीले जोखिमपूर्ण अवस्थाको रिपोर्टिङका अनुभव साट्दै फोटो पत्रकारिता महत्वपूर्ण विधा रहेकाले आफ्नो कमजोरीले आफूलाई सुधार्दै लैजाने बताए । कार्यक्रममा दी हिमालय टाइम्सका पत्रकार रेवती सापकोटाले द्वन्द्वकालमा आफूले राज्यका तर्फबाट भोग्नुपरेको पीडा र आफूले गरेको पत्रकारिता बारेको अनुभव प्रस्तुत गरेका थिए ।
त्यस्तै कान्तिपुर दैनिकका पत्रकार होम कार्कीले खाडीमुलुकमा प्रेस स्वतन्त्रता नभएको र त्यहाँबाट पत्रकाारित गर्नु वास्तवमै चुनौतीपूर्ण रहेको बताए। उनले पत्रकारिताको माध्यमबाट वैदेशिक रोजगारमा रहेका नेपालीको यथार्थ उजागर गरिएको बताउनुभयो । देश सञ्चार अनलाइनका पत्रकार दीपा दाहालले समाचार सङ्कलनका क्रममा आफूले भोगेका तितामीठा अनुभव साट्दै पत्रकारितामा अवसर र चुनौती दुवै रहेको बताइन् ।
प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका पत्रकार रोजिता बुद्धाचार्य र रोशा बस्नेतले सगरमाथा आरोहणसँगै त्यसक्रममा आफूहरुले देखेको स्थलगत रिपोट तयार गरी सरकारलाई बुझाएको बताए । पत्रकार ऋषिराम पौडेलले भूकम्पको बेलामा गरेको जोखिमपूर्ण पत्रकारिताका बारेमा आफ्ना अनुभव प्रस्तुत गरेका थिए । महासङ्का सचिव एवं कार्यक्रम संयोजक रामप्रसाद दाहालले महासङ्घले पहिलो पटक नयाँ अभ्यासका रूपमा जोखिमपूर्ण पत्रकारिताको अनुभव आदानप्रदान कार्यक्रमको आयोजना गरेको बताए। उनले अनुभव प्रस्तुति सङ्कलन गरी महासङ्घको प्रकाशनमा समावेश गरिने र भविष्यमा यस्ता प्रस्तुतिलाई संस्थागत गरिने जानकारी दिए ।