इटहरीः सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित चतरामा चैत २३ गतेदेखि शुरु हुन लागेको १ महिने अर्धकुम्भ मेलाको संयोजन १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ ।
मेला आयोजक र प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईसँग भएको छलफलपछि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई अर्धकुम्भ मेलाको संयोजनको जिम्मेवारी दिइएको छ ।
शुक्रबार चतरामा भएको कुम्भमेला तयारीसम्बन्धी सर्वपक्षीय छलफलमा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कुम्भमेला सफल बनाउन प्रदेश सरकारले आर्थिक, भौतिकदेखि सम्पूर्ण सहयोग गर्ने बताए ।
उनले मेलाको सफलताका लागि सबै स्थानीय तह, निजी क्षेत्र र सरकारी क्षेत्रलाई परिचालन गरिनेसमेत जनाए । चैत २० सम्ममा चतरा पुग्ने चारैतिरका सडक मर्मत गरिसक्ने र विभिन्न नाकादेखि नै प्रवेशद्वार राखिने, यातायात, स्वास्थ्य, खानेपानीलगायतको सम्पूर्ण पूर्वाधार तयारीका लागि सबैलाई निर्देशन दिएको उनले जनाए ।
वराहक्षेत्र नगरपालिकाका प्रमुख नीलम खनालले मेलाका लागि आवश्यक खर्च तथा तयारीका बारेमा जानकारी गराएका थिए । वैशाख २४ सम्म लाग्ने अर्धकुम्भमा चैत २६, वैशाख ६, २१ र २४ गते हुने स्नानमा देशविदेशका एक करोड हिन्दू धर्मावलम्बी सहभागी हुने आयोजकले जनाएको छ ।
चतरामा २०५९ सालमा पहिलो पटक कुम्भ मेला लागेको थियो । त्यसपछि २०६३ मा अर्धकुम्भ र २०७० मा पूर्णकुम्भ मेला लागेको थियो । प्रत्येक १२ वर्षमा कुम्भ र ६ वर्षमा अर्धकुम्भ मेला लाग्ने गरेको छ ।
भारतमा नासिक, इलाहावाद, उज्जैन र हरिद्वार गरी ४ स्थानमा कुम्भ मेला लाग्ने गर्छ ।