फाइल तस्बिर
सङ्खुवासभाः सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा शनिबार राति अज्ञात समूहले आगजनी गरेको छ ।
मध्यरातमा अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्ण रूपले जलेर नष्ट भएका छन् । कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो गाउँपालिकामा आगजनी भएको स्थानीयवासीले रातको समयमा देखेका थिए । सदरमुकाम खाँदबारीबाट ४ दिनको पैदल दूरीमा रहेको सो गाउँपालिका नेपालकै अति दुर्गम गाउँपालिकाको रूपमा चिनिन्छ ।
काम विशेषले खाँदबारी आएका सो गाउँपालिकाका अध्यक्ष पेम्बा भोटे गाउँपालिकामा आगजनी भएको खबर पाउनासाथ त्यसतर्र्फ लागेको बताइएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आजै घटनास्थलमा नेपाल सरकारको सम्बन्धित निकाय हेलिकप्टरमार्फत् जाने प्रयास भइरहेको तर मौसमको खराबीका कारण जान नसकेको बताइएको छ ।
घटनास्थलमा अहिले सेना तथा प्रहरीसहितको संयुक्त टोलीले गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए ।