विराटनगरः प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्पन्न लगानी सम्मेलनबाट सरकार निकै उत्साहित भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्मेलनमा एशियाली विकास बैंक, विश्व बैंकदेखि संसारका विभिन्न देशका प्रतिनिधिको उल्लेखनीय सहभागिताले पनि नेपालमा लगानी भित्रिनेमा सरकार विश्वस्त रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले आधार वर्ष मानेर काम गरेको र यस वर्ष तीव्र विकास गर्ने वर्ष भएको बताए । प्रधानमन्त्री ओलीले आधार वर्षमा संरचना र कानुन निर्माणमा समय खर्च गर्दा पनि नेपालमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुनु निकै उपलब्धिपूर्ण भएको बताए । अब विकास तीव्र गतिमा हुन्छ भन्नेमा ढुक्क हुन उनले आग्रह गरे ।
प्रधानमन्त्री ओलीले राजनीतिक दलका रूपमा दर्ता नभएका समूहलाई राजनीतिक दल भन्न नमिल्ने बताउँदै नेत्रविक्रम चन्द्र नेतृत्वको समूहले गरिरहेका अराजक गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे ।
अदालत र सरकार अलगअलग विषय भएकाले सञ्चारकर्मीलाई सोहीअनुसार बुझ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सञ्चारकर्मीले सरकार र अदालतबीच झगडा लगाउने समाचार सम्प्रेषण गर्न नहुने बताए ।
सङ्घीय सरकार र प्रदेश सरकारबीचको सम्बन्ध बिगार्ने काम पनि सञ्चारकर्मीबाट हुन नहुने उनको भनाइ थियो । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसलाई औचित्यका आधारमा जिम्मेवारी दिने तर भागबण्डाका पक्षमा सरकार नरहेको बताए ।