पाँचथरः पूर्व राजा ज्ञानेन्द्र शाहको फिदिम भ्रमणको दुई दिन अघि फिदिममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका एक नेताले पूर्व राजमाथि पनि प्रतिबन्ध लाग्न सक्ने दाबी गरे ।
फिदिममा नेपाल प्रेस सेन्टर र प्रेस चौतारीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेकपा १ नम्बर प्रदेश सह–इन्चार्ज सावित्रीकुमार काफ्लेले गतिविधि हेरेर प्रतिबन्धको समेत अवस्था आउन सक्ने बताए ।
नेपाली नागरिकले आर्जन गरेको सङ्घीय गणतन्त्रसहितका बलिदानीपूर्ण परिवर्तनका विरुद्धमा लागेको पाइए त्यो अवस्था आउन सक्ने उनले बताए । ‘आम नागरिकसरह गर्न पाउने गतिविधिका विरुद्धमा सरकारले कुनै हस्तक्षेप गरेको छैन’, उनले भने, ‘त्योभन्दा बढेर गतिविधि गरेको देखिए सरकारले कसैलाई छाड्नेवाला छैन । पूर्व राजाको हकमा पनि त्यही हुन्छ ।’
पूर्व राजा अहिले आम नागरिक भएको बताउँदै उनले त्यसबाहेक अरु केही गर्न नमिल्ने बताए । विश्वमै नभएको काम नेपालमा भएको प्रसङ्गमा उनले नेपालमा पूर्व राजालाई राज्यले सुविधा दिएर राखेको समेत बताए । ‘विश्वमा भएका परिवर्तनपछि त्यहाँका शासकलाई कि त फाँसी भएको छ, कि त पलायन पारिएको छ, कि त आजीवन कारावास’, उनले भने, ‘नेपालमा त्यसो भएको छैन । हामीले सुरक्षाको पूर्ण प्रत्याभूति दिएका छौँ ।’
चैत ११ गतेबाट पाँचथर जिल्लाका स्थानीय तहमा भएको नेकपा समायोजनको औपचारिक कार्यक्रममा रहेका काफ्लेले ५६ वर्षको नेपाली कम्युनिष्ट आन्दोलनमा हालको उपलब्धीले विश्व चकित भएको बताए । ‘यो कसैले नसोचेको विषय हो,’ उनले भने, ‘बैशाखको १० गते सम्ममा सबैखाले एकताको काम सकिन्छ ।’