झापाः पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै आइतबारदेखि चरणबद्ध आन्दोलन शुरु गरेका छन् । उनीहरूले सबै चिया प्रतिष्ठानहरूमा अनिश्चितकालीन तालाबन्दीसहित चन्द्रगढीमा विरोधसभा गरेका छन् ।
गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडिबाट ‘श्रम ऐन लागू गर, राजपत्रमा उल्लेखित न्यूनतम पारिश्रमिक कार्यान्वयन गर’लगायतका नारा लेखिएका ब्यानरसहित निकालिएको र्याली जिल्ला प्रशासन कार्यालय हुँदै चन्द्रगढी बजार परिक्रमा गरी ट्रेड युनियन चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै मजदूर नेताहरूले कारखानाका मालिकले नेपाल सरकारको राजपत्रमा उल्लेखित पारिश्रमिक कार्यान्वयनमा कतैबाट चासो नदिएकोले फेरि आन्दोलित हुनु परेको बताएका थिए । र्यालीमा जिल्लाका सयौं मजदुरहरूको उपस्थिति रहेको थियो ।