झापाः दोस्रो नगरसभाबाट स्वीकृत बजेट नीति तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्ष २०७५÷०७६ को हालसम्म मेचीनगर नगरपालिका कार्यालयबाट विभिन्न प्रकारका ३१ वटा योजना सम्पन्न भएका छन् ।

वडास्तरीय २ सय ५ र नगरस्तरीय १ सय ७० गरेर जम्मा ३ सय ७५ वटा योजनामध्ये हालसम्म ३१ वटा योजना सम्पन्न भइसकेको नगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक कृष्ण खनालले बताए ।

उनका अनुसार गत आर्थिक वर्ष २०७४÷०७५ बाट सरी आएका ९९ वटा योजना सबै सम्पन्न भएका छन् । यसरी हेर्दा चालु आर्थिक वर्ष २०७५÷७६ को यो अवधिसम्म आइपुग्दा पुराना र नयाँ गरी कुल १ सय ३० वटा योजनाको काम सम्पन्न भएको छ ।

पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर कमल कोइरालाका अनुसार १ सय ४८ योजनाको लागत अनुमान तयार भई सम्झौता समेत भएर काम हुँदैं गरेको छ भने १ सय योजनाहरुको सर्भेको काम सम्पन्न भई लागत अनुमान तयारीको अवस्थामा रहेको छ ।