पाँचथरः फिदिम– ४ पाँचथरमा बन्दै गरेको गणेशमान स्मृति शान्ति पार्कमा बिहीबार अनौठो दृश्य देखियो । आफ्ना बाबुको नाममा निर्माण भएको पार्कमा पुगेर काङ्ग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह भावुक भए । उनले भने, ‘सुदूर पूर्वका नागरिकका मनमा अझै पनि गणेशमानको योगदानको स्मरण छ । पार्कले स्मरणलाई सदासदा जीवित राख्नेछ ।’
काठमाडौंजस्तो सुविधासम्पन्न स्थानमा हुर्किएर पनि देश र जनताका लागि आरामको जिन्दगी बिताउन नचाहेका सिंहलाई देशभरका नागरिकले गरेको स्मरणले छोरा प्रकाशमानलाई भावुक बनाएको थियो । ‘सुदूर पूर्वमा पनि बुबाको योगदानलाई नागरिकले भुल्न सक्दैनन्,’ उनले थपे, ‘यो नेपाली जनको मनमनमा बसेको विषय हो ।’
उनले शिलान्यास गरेको पार्कको काम अहिले धमाधम भइरहेको छ । एक वर्षअघि फिदिमको जोरसाल बजार नजिक जग्गा व्यवस्थापन गरी शुरु भएको पार्क निर्माणको कार्य धमाधम भइरहेको छ । पार्कको जग्गा तारबार गर्ने कार्य पूरा भएको छ ।
पार्क दीर्घकालीन योजना अन्तर्गत निर्माण हुन लागेको हो । ‘७७ रोपनी १५ आना जग्गामा फैलिएको पार्क निर्माणका लागि हालसम्म विभिन्न चरणमा गरेर १ करोड ७० लाख रुपैयाँ खर्च भइसकेको छ’, गणेशमान सिंह शान्ति प्रतिष्ठान पाँचथरका अध्यक्ष सन्तोष श्रेष्ठले भने, ‘चालु आर्थिक वर्षमा पनि करिव २ करोडका पूर्वाधार बन्ने भएका छन् ।’
प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षमा खर्च हुने बजेट विनियोजन भएको हो । त्यसका लागि टेण्डर प्रक्रिया शुरु भएको छ । पार्क निर्माणमा सबैको समान सहभागिता र अपनत्व विकास गर्न यसलाई समावेशी बनाउने बताइएको छ ।
पार्कमा एमाले नेता मदन भण्डारी, किरात धर्मगुरु फाल्गुनन्द लगायतका विभिन्न धार्मिक र राजनीतिक आस्थाका विचारकका शालिकलाई एकै ठाउँमा व्यवस्थापन गर्न लागिएको छ ।
केके छन् योजना ?
पार्क निर्माणका लागि समितिले बहुवर्षे कार्ययोजना अघि सारेको छ । आगामी १० वर्षभित्रमा पार्कलाई पूर्णता दिने लक्ष्यका साथ समितिले काम थालेको हो । अध्यक्ष श्रेष्ठका अनुसार पार्क निर्माणको पहिलो प्राथमिकतामा पिकनिक स्थल, चिल्ड्रेन पार्क, बोटानिकल गार्डेन, भ्यु टावर र विभिन्न राजनीतिक र धार्मिक आस्थाका प्रतीकहरूलाई समावेश गरी शालिक निर्माण गरिने भएको छ । सबैको अपनत्व कायम गर्न त्यस्तो प्रयन्त गरिएको अध्यक्ष श्रेष्ठले बताए ।