बेलबारीः मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसको आन्दोलन तथा शक्ति प्रदर्शन सडकमा सरेको छ । क्याम्पस सामान्य बन्दै गए पनि सडकमा शक्ति प्रदर्शन भने रोकिएको छैन ।
आज नेपाली काङ्ग्रेसले विरोटचोकमा शक्ति प्रदर्शन गरेको छ । सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले नैतिकताको आधारमा राजीनामा नदिए गलहत्याएर कुर्सीबाट हटाउने नेपाली काङ्ग्रेसका नेताले चेतावनी दिएका छन् ।
नेवि सङ्घ क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका मोरङ अध्यक्ष डिगबहादुर लिम्बूले शिक्षा ऐनविपरीत दोहोरो सेवा सुविधा लिनेको विरोध गर्दा नेवि सङ्घका विद्यार्थीमाथि साङ्घातिक हमला गर्न अखिललाई उक्साउने श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । प्रदेश सांसद सूयर्माराज राई र लोकप्रसाद सङ्ग्रौलाले नेकपाको दुई तिहाईको दम्भ देखाउँदै क्याम्पसलाई पार्टी कार्यालय बनाउने र विरोध गर्दा आक्रमण गर्नेहरुको ज्यादती सहेर नबस्ने बताए ।
उता, २ दिनअघि नेकपाले अगुवा कार्यकर्ता भेला गर्दै दोहोरो सुविधा के हो भन्ने नबुझ्नेले गरेको आन्दोेलनको कुनै तुक नहुने निष्कर्ष निकालेको थियो ।
मन्त्रीदेखि कर्मचारीसम्म दोसिए
प्रदेश सांसदहरूले मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले हर्कत देखाएका कारण क्याम्पसमा समस्या भएको बताएका छन् । उनीहरूले मन्त्री ढकालको यस्तै हर्कत कायम रहे यो क्षेत्रबाट बढारिने समेत चेतावनी दिए ।
यस्तै, नेकपाले भने सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाल तथा शिक्षा शाखाका प्रमुख सन्तोष बरालले योजना बनाएर क्याम्पसभित्र राजनीति गरेको आरोप लगाएको छ । बरालले क्याम्पसमा अध्यापन गराउने वातावरण मिलाइदिन प्रशासनमा पटकपटक दबाब दिएको आरोप लगाएको छ । क्याम्पसमा अध्यापन गर्न नपाएपछि बरालले योजना बनाएको नेकपाको आरोप छ ।
नेकपा तथा काङ्ग्रेस अहिले सडकमा आन्दोलन गरिरहेका छन् । क्याम्पसमा भने पठनपाठन भइरहेको छ ।