विराटनगरः विराटनगर महानगरपालिका क्षेत्रबाट विभिन्न समयमा हराएका ५ थान मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–६ घर भई विराटनगर–४ बस्ने विजयकुमार यादव, सुनसरीको बर्जु गाउँपालिका घर भई विराटनगर–५ बरगाछी बस्ने मनोजुकमार चौधरी, विराटनगर–१४ का अनुज यादव र सोही स्थानका सोनेलाल महतो तथा सिरहा नगरपालिका–२२ का सुनिल यादव रहेका छन् । प्रहरीले को ३५ प ९७६३, को २५ प ५२५१, को २८ प ४९७४, को ३५ प ३१२० र नम्बर प्लेट बिनाको पार्टपुर्जा खोलिएको एक थान मोटरसाइकल पनि बरामद गरेको जनाएको छ ।

विजयकुमार यादव स्थानीय एक कलेजमा एमबीबीएसका विद्यार्थी रहेको र चौधरी एक सञ्चारमाध्यममा कार्यरत रहेको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । पक्राउ परेकालाई मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को चोरी कसुरअन्तर्गत मोरङ जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान थालिएको बताइएको छ ।