पथरीः मोरङ पथरीशनिश्चरे–८ शुक्रबारेमा जस्ताको छानोमात्र भएको सानो टहरो छ । टहराभित्र काठका मुढा लडिरहेका छन् । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने खडानन्द सुनारलाई फुर्सद नै छैन । लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति कोप्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर मनग्य आम्दानी ।

कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसिनमा काठका मुढा घुमाउँदै खडानन्द बिहान, दिउँसो र साँझ ठेकी बनाउने कारखानामा व्यस्त हुन्छन् । १६ वर्षको उमेरदेखि बुबासँग सीप सिकेर पेसामा लागेका सुनार करिब चार दशक काठको ठेकी बनाएरै बितेको बताउँछन् ।

ठेकीबाट भएको आम्दानी सुनारको घरखर्चमा मात्रै सीमित छैन, उनले आफ्ना छोराछोरीको शिक्षामा लगानी गरेका छन् । काठको ठेकी अहिले प्रतिगोटाको रु ३ सयदेखि ९ सयमा बिक्री हुन्छ । दही जमाउने ठेकीबाहेक सुरही, हर्पे, पत्रे ठेकी, चौंठो, हुक्का, ठेकी, तुम्बा लगायतका ३५ किसिमका सामग्री बनाउने गरेको उनी बताउँछन् ।

शुक्रबारेमा खडानन्द मात्र होइन उनका छिमेकीहरू जीतबहादुर रसाइली, दिलीप रसाइली, दीपक रसाइली, गङ्गा रसाइली, रामकुमार कामीलगायतले ठेकी बनाउँछन् ।

पहिले पानीघट्टको प्रयोगबाट मेसिन सञ्चालन हुने भए पनि अहिले विद्युत प्रयोग भएको छ । पानीघट्ट भन्दा विद्युतबाट मेसिन सञ्ंचालन गर्दा सहज र उत्पादनमा समेत वृद्धि भएको अनुभव उनीहरूको छ ।

पर्याप्त ठेकी बनाउन सके पनि पछिल्लो समय काठका ठेकी बिक्री हुन छाडेको सुनारले गुनासो गरे । ठेकी बिक्रीका व्यापारीलाई सस्तो मूल्यमा दिनुपर्ने बाध्यता रहेको उनी बताउँछन् । ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो । मिहिनेतअनुसार आम्दानी नहुने र बजारमा आएका आधुनिक भाँडाकुँडाका कारण ठेकीको व्यापारमा कमी आएको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा किसानले दही जमाएर मोही पार्ने र राख्ने सामग्रीका रूपमा ठेकीको प्रयोग हुँदै आएकामा अहिले पशुपालन कम हुन थालेपछि यसको प्रयोगमा कमी आएको छ । हिजोआज प्लास्टिक तथा धातुका सामान प्रयोग हुन थालेपछि काठको ठेकी लोप हुने अवस्थामा पुगेको हो ।

पछिल्लो समय बिक्री कम हुने र पर्याप्त काठ नपाउने हुँदा पनि ठेकी बनाउने पेशा सङ्कटमा परेको छ । ठेकी बनाउनका लागि दार, कटहर, सिसौ, खिर्रो लगायतका काठको प्रयोग हुन्छ । तर हिजोआज ती काठ कम पाइने र जङ्गलबाट ल्याउन पनि सामुदायिक वनले प्रतिबन्ध लगाएपछि पेशा नै सङ्कटमा परेको खडानन्द बताउँछन् ।

यता, डिभिजन वन अधिकृत विशाल घिमिरेले ठेकी बनाउने व्यवसाय मात्र नभएर वनजन्य उत्पादन गरी परम्परागत पेशा अपनाइरहेका व्यक्तिलाई आवश्यक पर्ने प्रकृतिका काठ सहुलियत दरमा उपलब्ध गराउने प्रतिबद्धता जनाए । त्यस्ता व्यवसाय जोगाइराख्न र तालीमको व्यवस्था गर्न डिभिजन वन कार्यालय लागिपर्ने डिभिजन वन प्रमुख घिमिरेको भनाइ छ ।

Chudaro-1