पाँचथरः  फिदिम बसपार्क सञ्चालनमा देखिएको समस्या समाधान गर्न फिदिम नगरपालिकाले सुझाव लिएको छ । नगरपालिकामा सर्वपक्षीय छलफलको आयोजना गर्दै पालिकाले सुझाव लिएको हो ।

बसपार्क सञ्चालनमा व्यवसायीलाई परेको असर सहित पछिल्लो समय पाँचथर उद्योग वाणिज्य सङ्घले गरेको आन्दोलनको चेतावनीको विषयलाई लिएर सुझाव माग गरिएको नगरपालिकाले जनाएको छ । फिदिम नगरपालिका पूर्वाधार सहितको बसपार्कलाई कडाइका साथ कार्यान्वयको चरणमा छ । उद्योग वाणिज्य सङ्घले भने नगरपालिकाको कार्यशैलीमा सुधार सहित बसपार्क सञ्चालन सहितका माग राख्दै विज्ञप्ति समेत जारी गरेको थियो ।
सोमबार आयोजित भेलाले बसपार्क प्रभावकारी सञ्चालनमा सकरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा सुझाव माग गरेको थियो । सो क्रममा पाँचथर उद्योग वाणिज्य सङ्घले आठ बुँदे सुझाव प्रस्तुत गरेको छ । सुझावमा यस अघि नगरपालिकाले तय गरेको बजारमा रोकिन पाउने समय बढाउनु पर्ने सहितका छन् ।

सुझाव राख्ने क्रममा केही यातायात ब्यवसाहीले बसपार्कको केही हिस्सा बजारमै राख्न पनि सकिने सुझाएका छन् । फालेलुङ क्षेत्रका नागरिकको सुविधाका लागि भन्दै यातायात व्यवसायी भरत खड्काले अदालत अगाडीको क्षेत्रलाई प्रयोग गर्नु पर्ने सुझाव दिएका छन् । तर नगरपालिकाले भने काउन्टर सहितका बजारका संरचना बसपार्क मै लैजान सबैमा आग्रह गरेको छ । 'हामी जसरी पनि बसपार्क सञ्चालनको पक्षमा छौ । यहाहरुले सहयोग गर्नु पर्‍यो' फिदिम नगरपालिका मेयर ओनहाङ नेम्बाङले भने– 'सानातिना अप्ठ्यारा केही भए बसेर त्यसलाई समाधान गरौँ तर बसपार्क सञ्चालनमा सहयोग गर्नुपर्याे ।'
पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी बस्तीको उपस्थितिमा भएको कार्यक्रममा नेकपा नेता पृथ्वी लावती, नेपाली काँग्रेसका जिल्ला सचिव रूपनारायण जबेगू, पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल, यातायात व्यवसायी हस्त तामाङ, योगेश थापा, पत्रकार महासङ्घका अध्यक्ष लवदेव ढुङ्गाना, फिदिम २ निवासी कमलराज नेम्बाङ सहितले सुझाव राखेका थिए ।
प्राप्त सुझावलाई सङ्कलन गरेर आवश्यक तयारी साथ कार्यान्वयनमा लैजाने तयारी नगरपालिकाले गरेको छ ।