विराटनगर/ भदौभित्र प्रदेश १ को नामकरण र स्थायी राजधानीको टुङ्गो लगाउने कुरा सार्वजनिक रूपमा आएको छ । त्यससँगै प्रदेश १ को नामको विषयमा त अभियानहरू शुरु भएका छन् ।

आजै संघीय लिम्बुवान पार्टीले प्रदेश १ को नाममा लिम्बुवान अटाउनुपर्ने भन्दै इटहरीदेखि विराटनगरसम्म मार्चपास गयो । किराती संस्थाहरूले पनि पहिचानको अधारमा प्रदेश १ को नाम किरात हुनुपर्ने सार्वजनिक माग गर्दै अभियान चलाउँदै आएका छन् । केही समय अगाडि विराटनगर क्षेत्रका राजवंशीहरूले प्रदेश १ को नाम विराट प्रदेश हुनुपर्ने भन्दै जुलुस निकालेका थिए ।

हाल वामपन्थी बाहुल्य प्रदेश ६ र ४ को नाम क्रमशः कर्णाली र गण्डकी राखिएको नजिरका आधारमा प्रदेश १ को नाम पनि कि कोशी कि सगरमाथा हुन्छ भनेर अनुमान लगाउनेहरू पनि छन् ।

यसरी प्रदेश १ को नामकरणको विषयमा चर्का मतभेद र अभियानहरू चलेको प्रदेश १ मा राजधानीको विषयमा भने मौनता देखिएको छ ।

यसरी मौनता आउनुमा स्थायी राजधानीको बाँडफाँड दलगत आधारमा हुने भएकाले त्यस्तो भएको प्रदेश १ का जानकार सांसद बताउँछन् । राजधानीको विषयमा अनसनदेखि आन्दोलन र ज्ञापनपत्र बुझाएका इटहरी, धरान र धनकुटा अहिले मौन हुनुमा पनि राजधानीको विषयमा बन्दै गरेको साझा सहमति भएको स्रोतले बताएको छ ।

बृहत्तर विराटनगरको नाममा बन्दैछ राजधानी करिडोर
प्रदेश सभा बन्दा प्रदेशको स्थायी राजधानी बन्न विराटनगर, इटहरी, धरान र धनकुटाको नाम आएको थियो । आ–आफ्नो क्षेत्रमा राजधानी बनाउन सांसददेखि नेताहरूले लबिङ गरेका थिए ।

अहिले भने राजधानीको सवालमा नयाँ शब्द आएको छ – बृहत्तर विराटनगर । बृहत्तर विराटनगर अर्थात् विराटनगर महानगरपालिका क्षेत्र मात्रै होइन विराटनगरदेखि इटहरी हुँदै धरानसम्म समेटेर बनेको क्षेत्र । विराटनगर, इटहरी र धरानसम्म राजधानी लाने योजनामा प्रदेश १ का नेकपाका नेताहरू लागिपरेका छन् ।

बृहत्तर विराटनगर नै राजधानी हुने कुराको जनाउ हालसालै कान्तिपुर टेलिभिजनको टक सो फायर साइडमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि दिइसकेका छन् । उनले अन्तर्वार्तामा प्रदेश १ को राजधानीको लागि बृहत्तर विराटनगर उपयुक्त हुने बताएका छन् ।

केन्द्रीय नेताहरूसँगको कुराकानी र प्रदेशमा भएको विभिन्न संवादको निचोडको रूपमा बृहत्तर विराटनगर नाम राखेर राजधानी करिडोर बनाउने होमवर्क शुरु भएको छ ।

जसअनुसार प्रदेश १ को मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयहरू विराटनगरमै राख्ने, प्रदेश सभा इटहरीमा राख्ने र प्रदेश प्रमुख भने धरानमा राख्न सकिने छलफल भएको नेकपाका एक प्रभावशाली नेता बताउँछन् ।

यो आर्थिक वर्षको बजेटमा इटहरीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने कार्यक्रम पर्नु नै प्रदेश सभा इटहरीमा जाने जनाउ भएको उनको भनाइ छ । धरानमा प्रदेश प्रमुख लाने विषयमा पनि आन्तरिक छलफल भएको उनले बताए । विराटनगरदेखि इटहरी हुँदै धरानसम्म ६ लेन सडक बन्दै गरेको र आधा वा पौने घन्टाको सडक यात्रामा एकै करिडोरका तीन सहर पुग्न सकिने भएकाले राजधानी करिडोर उपयुक्त भएको नेताहरूको निष्कर्ष आएको सत्तारुढ नेकपा स्रोत बताउँछ ।

विराटनगरका व्यापारिक पावर हाउस, प्रदेश १ का मन्त्रीत्रय क्रमशः जीवन घिमिरे, हिक्मत कार्की र इन्द्र आङ्बो भने बृहत्तर विराटनगर नभएर विराटनगर महानगरमा मात्रै राजधानी हुनुपर्छ भन्ने लाइनमा भएको नेकपा सांसदहरू बताउँछन् ।

केही सांसदहरू भने विराटनगर, इटहरी र धरान कतै पनि राजधानी नबनाएर कुनै नयाँ स्थानमा राजधानी तोक्नुपर्ने तर्क गर्दै आएका छन् । तर, यो तर्क सत्तारुढ दलमा बलियो रूपमा भने आएको छैन ।

केही महिना अगाडि प्रदेशको स्थायी राजधानीको टुङ्गो नलागीकन प्रदेश सभा बनाउन विराटनगरका लागि बजेट छुट्याएपछि बहुमत सांसदहरूले त्यसको विरोधमा हस्ताक्षर सङ्कलन गरेका थिए ।

हस्ताक्षर सङ्कलन गरेको भन्दै गृहमन्त्री हिक्मत कार्कीले नेकपाका सांसदहरूलाई फोन गरेर राजधानी विराटनगर नै हुनुपर्ने भन्दै हस्ताक्षर नगर्न आग्रह गरेका थिए ।

राजधानी रेसको धनकुटाले के पाउँछ ?
प्रदेश १ को राजधानी रेसमा रहेको धनकुटाले सबैभन्दा धेरै आन्दोलन र चक्काजाम गरेको थियो । धनकुटामा राजधानी नहुँदा सबै क्षेत्रीय कार्यालयहरू अन्तै सर्ने र धनकुटा मृत शहर हुने भन्ने मनोविज्ञानको आधारमा धनकुटेलीहरू सक्रियतापूर्वक आन्दोलनमा सहभागी भएका थिए । सर्वसाधारणको आन्दोलनमा प्रदेश सांसदहरू पनि सहभागी भएका थिए ।

प्रदेश १ को शपथपग्रहण समारोहमा पनि धनकुटेली सांसदहरू निरन राई र इन्द्रमणि पराजुलीले धनकुटालाई राजधानी नबनाए कडा आन्दोलन गर्ने भनी मिडियालाई बताएका थिए । तर, अहिले दुवै सांसद मौन छन् ।

यसो हुनुमा धनकुटामा क्षेत्रीय कार्यालयहरू कायम हुने मोटामोटी सहमति भएको बुझिएको छ । जस अनुसार हालसालै स्वास्थ्य निर्देशनालय र शिक्षा निर्देशनालयको प्रदेश कार्यालयहरू धनकुटामै राख्न सफल भएको भन्दै धनकुटेली सांसदहरू निरन राई र कुसुम श्रेष्ठले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए ।

शिक्षा र स्वास्थ्य मात्रै होइन धनकुटामा पहिले रहेका क्षेत्रीय कार्यालयहरू अब प्रदेश कार्यालयको रूपमा धनकुटामै राख्ने होमवर्क शुरु भएको छ । त्यसपछि, बृहत्तर विराटनगरलाई राजधानी बनाउने तयारीमा सत्तारुढ नेकपा र मुख्यमन्त्री शेरधन राई लागि परेको स्रोत बताउँछ ।