धनकुटाः नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको लामो समयपछि एकता स्थानीय तहसम्म हुन थालेको छ । नेपाल कम्युनिस्ट पार्टी बनेको १० महिनापछि बल्ल स्थानीय तहमा एकता हुन थालेको हो ।
यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनकुटाको सात वटै स्थानीय तहका समितिका सदस्यहरूले शपथ लिएका छन् । पार्टी केन्द्रीय कमिटी सदस्य हेमराज भण्डारी लगायत प्रदेश कमिटी सदस्यहरूले सोमबार सात वटै स्थानीय तहमा शपथ गराएका हुन।
३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा पूर्व एमालेले धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, साँगुरी गढी गाउँपालिका, छ थर जोरपाटी गाउँपालिका र शहिदभुमि गाउँपालिकाको नेतृत्व गरेको छ भने महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकाको नेतृत्व पूर्व नेकपा माओवादी केन्द्रले गरेको छ।
जसअनुसार धनकुटा नगर अध्यक्षमा अर्जुन छाराहाङ र सचिवमा खगेन्द्र विष्ट, पाखरीवास नगर अध्यक्षमा शान्तिराम गौतम र सचिवमा मुक्ति बजगाईँ, साँगुरी गढी गाउँपालिका अध्यक्षमा देवमान राई र सचिव जगत् राई, छ थर जोरपाटी गाउँपालिका अध्यक्षमा इन्द्र सारुमगर र सचिवमा ज्ञानेन्द्र कार्की र शहिदभुमि गाउँपालिका अध्यक्षमा निरबहादुर राई र सचिवमा मातृका राई रहेका छन् ।
त्यस्तै पूर्व नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तहहरूमा महालक्ष्मी नगर अध्यक्षमा प्रेमबहादुर खड्का र सचिवमा विष्णुप्रसाद दाहाल तथा चौबिसे गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर खत्री र सचिवमा राजकुमार चेम्जोङलाई जिम्मेवारी पाएका छन्।
पार्टीको स्थानीय तह परिचालनको लागि इन्चार्ज भने जिल्ला नेतृत्व निर्माण भएपछि मात्र तोकिने नेकपाको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए।