इटहरीः पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार रातिदेखि कमजोर रूपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन् ।

सो प्रणाली क्रमशः विकसित भई शनिबारसम्म कायम रहने बताइएको छ । राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ ।

शुक्रबार देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याइएको छ । उच्च हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।