इलामः लोपोन्मुख लेप्चा जातिको बसोबास रहेको इलामको रोङ गाउँपालिकामा एकीकृत घुम्ती शिविरको पहिलो दिन २ सय १२ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय इलाम, रोङ गाउँपालिका र इलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त आयोजनामा शुरु भएको शिविरमा मतदाता नामावली सङ्कलन, अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र पनि वितरण गरिएको थियो । त्यस्तै, ल्याब टेस्ट, विशेषज्ञ चिकित्सकद्वारा बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरण, फिजियोथेरापी र परिचयपत्र प्रमाणीकरण, नाक, कान, आँखा परीक्षणका साथै ६ वटै वडाबाट प्राप्त हुने सिफारिश सेवा रहेको थियो ।
शिविरमा जनताको गुनासो सम्बोधनका लागि नेपाल प्रहरीले गाउँपालिकाको प्राङ्गणमा समुदाय प्रहरी साझेदारी कार्यक्रम समेत राखेको थियो । शुक्रबारसम्म सञ्चालन हुने शिविरबाट ग्रामीण क्षेत्रका बासिन्दाहरू लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष शम्शेर राईले बताए ।
मेची राजमार्गसँग जोडिए पनि गाउँपालिकाको विकट क्षेत्रका बासिन्दाहरू सरकारले दिने सेवाको पहुँच भन्दा टाढा रहेका छन् । लोपोन्मुख लेप्चा जातिको बसोबास रहेको र भौगोलिक रूपमा विकट रोङमा गाउँगाउँबाट सयौँको सङ्ख्यामा सेवाग्राहीहरू गाउँपालिकाको कार्यालयमा उपस्थित भएका थिए ।