इलामः इलाम बजारमा सञ्चालन हुन लागेको साना शहरी खानेपानी आयोजना सञ्चालनका लागि ठेक्का लागेको छ ।
इलाम नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गर्दै कामबारे जानकारी गराएको हो । इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजना रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख ७ हजार रुपैयाँमा ठेक्का लिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि नगर विकास कोषको १४ करोड ४८ लाख ७७ हजार र उपभोक्तामार्फत् उठाइएको ९ करोड ८९ लाख ७५ हजार रुपैयाँमार्फत् आयोजना सञ्चालन गर्न लागिएको हो ।
खानेपानी आयोजना २ वर्षभित्रमा सम्पन्न हुने गरी सम्झौता गरिएको छ । निर्माण पश्चात निर्माण भएका सबै संरचना इलाम नगरपालिकाको स्वामित्वमा रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए । इलाम नगरपालिका कार्यपालिकाको बिहीबार सम्पन्न बैठकले नगरपालिकाभित्र यसै शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्न सीटीईभीटीसँग सहकार्य गर्ने, जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा सङ्ग्रहालय स्थापनाका लागि कार्य अगाडि बढाउने निर्णय भएको नगरप्रमुख बस्नेतले जानकारी दिए ।
गत १७ गते आइतबार बारा र पर्सामा आएको हुरीबाट पीडित भएकाका लागि इलाम नगरपालिकाबाट नगद १ लाख सहयोग गर्ने निर्णय भएको बताइएको छ । त्यस्तै, इलाम नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले १ दिनको पारिश्रमिक दिने निर्णय भएको पनि बताइएको छ ।