बेलबारीः बेलबारी नगरपालिकाले बिहीबार गरेको सार्वजनिक सुनुवाइमा मालपोत कार्यालयको बेथितिमाथि प्रश्न उठेको छ । मालपोत कार्यालयमा कर्मचारीले घुसबिना कुनै काम नगरेको भन्दै सार्वजनिक सुनुवाइमा प्रश्न उठाएका हुन् ।
बेलबारीका सन्देश तामाङले मालपोतमा एउटा जग्गा पास गर्न एक हप्ता लगाएको समेत बताए । नगरवासीको गुनासालाई सम्बोधन गर्दै नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले मालपोतको बेथिति देशव्यापी रूपमा रहेको र जनाचासोको यस विषयमा मालपोत प्रशासनसँग छलफल भइरहेको बताए ।
यस्तै सार्वजनिक सुनुवाइमा सडक, खानेपानी, विद्युत बिस्तार, फोहोर व्यवस्थापन, न्यायिक समिति सुकुम्बासी समस्या, खोलाको तटबन्धलगायतका विषयमा सहभागीले प्रश्न उठाएका थिए । नगरका केही सडकमा धुलो उडेको भन्दै सडक व्यवस्थापन गर्न पनि माग गरिएको थियो । फोहोरको दिगो व्यवस्थापन गर्न समेत माग गरिएको थियो ।
लोहोन्द्रा तथा चिसाङ खोलाको तटबन्ध गर्न नगरपालिकाले चासो देखाउनुपर्ने स्थानीयको भनाइ छ । सकुम्बासी समस्याको समाधान गर्न समेत सहभागीले माग राखेका थिए । न्यायिक समितिसम्बन्धी प्रशिक्षण टोल विकास समितिमार्फत् दिनसमेत माग गरिएको छ ।
सहभागीले उठाएको प्रश्नको जवाफ नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली तथा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले दिएका थिए ।